काठमाडौं, ५ मंसिर दुई महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा ८ मंसिरदेखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले नयाँ प्रावधानसहित लाइसेन्स परीक्षा सुरु गर्न लागेको हो । सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन भएपछि असोजको पहिलो सातादेखि देशभर परीक्षा रोकिएको थियो । नयाँ नियमावलीअनुसार सबै तयारी पूरा भएकाले परीक्षा सुचारु गर्न लागिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । ‘सफ्टवेयर अपडेट भएको छ,’ उनले भने, ‘अब देशभरि नै ८ गतेदेखि लाइसेन्सको लिखित र ट्रायल परीक्षा सुरु हुन्छ ।’ के–के छन् नयाँ प्रावधान ? यसअघि विभागको सफ्टवेयरमा एकपटक ट्रायल दिएपछि तीन महिनासम्म दिन नपाइने सिस्टम बनाइएको थियो । कसैले तीन महिना नपुगी परीक्षा दिन गए सफ्टवेयरबाट थाहा हुन्थ्यो । संशोधित नियमावलीले एकपटक लिखित परीक्षा उत्तीर्ण गरेपछि ९० दिनभित्र तीनपटकसम्म ट्रायल दिन सकिनेछ । ९० दिनभित्र जुनसुकै तीन दिन ट्रायल परीक्षा दिन पाउने गरी नियमावली संशोधन गरिएकाले सोहीअनुसार सफ्टवेयर अपडेट गरिएको छ । एकपटक असफल भएपछि तीन महिना कुर्नुपर्ने प्रावधानले समस्या भएकाले संशोधन गरिएको हो । पछिल्लो समय ट्रायल परीक्षामा आधाभन्दा धेरै अनुत्तीर्ण हुने गरेका छन् । नयाँ प्रावधानले परीक्षार्थीलाई फाइदा हुनेछ ।
तर, लिखित परीक्षामा नै अनुत्तीर्ण भएको खण्डमा भने अर्काे परीक्षा दिन तीन महिना नै कुर्नुपर्ने डा. पाण्डेले बताए । उपत्यकामा गाडी र मोटरसाइकलको ८ गतेबाट सुरु हुने र उपत्यकाबाहिर पनि अञ्चल प्रहरी कार्यालयले केही दिनभित्रै सूचना जारी गरी परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । उपत्यकामा मीनभवनमा मोटरसाइकल तथा भद्रकालीस्थित नेसनल ट्रेडिङको जग्गामा विभागले गाडीको ट्रायल परीक्षा लिँदै आएको छ ।
विभागले गुर्जुधारामा आफ्नै ट्रायल सेन्टर बनाउन लागेको छ । तीन महिनापछि सोही स्थानबाट ट्रायल परीक्षा सञ्चालनको तयारी भइरहेको छ । ट्रायलका लागि गुर्जुधारामा संरचना निर्माणको काम भइरहेको प्रवक्ता डा. पाण्डेले बताए । यातायात कार्यालय प्रमुखमा यादव अञ्चल यातायात कार्यालय बाग्मतीको प्रमुखमा तेजनारायण यादवको सरुवा भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शुक्रबार यादवलाई अञ्चल यातायात कार्यालय प्रमुखमा सरुवा गरेको हो । अञ्चल यातायात कार्यालयका प्रमुख तेजप्रसाद उप्रेतीको भने बुटवलमा सरुवा भएको छ । त्यस्तै, यही महिनाको अन्तिमबाट उपत्यकाका अन्य तीन स्थानमा कार्यालयसमेत थपिन लागेको छ ।
कलंकी, भक्तपुरको सल्लाघारी र चाबहिलमा कार्यालय थप्न लागिएको हो । जहाँ उपसचिवको नेतृत्वमा २६ जना कर्मचारी हुनेछन् । लाइसेन्सको परीक्षादेखि सवारीसाधनको राजस्व ती कार्यालयमा बुझाउन सकिन्छ । हाल एउटा मात्र कार्यालय हुँदा अत्यधिक भीड हुने भएकाले सेवाग्राहीले सास्ती भोग्दै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनअनुसार कार्यालय थप गरिएको हो ।



