काठमाडौं, १० मंसिर । सरकार गठन भएको चार महिनापछि कांग्रेसले केही राज्यमन्त्री बनाउने तयारी गरेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भागबन्डा मिलाएर आठजनासम्म राज्यमन्त्री बनाउने तयारी कांग्रेसको छ ।
केन्द्रीयसदस्य गोपालमान श्रेष्ठले शुक्रबार नै नाम टुंग्याउने तयारीमा नेताहरू रहेको बताए । ‘दसैँअघि नै राज्यमन्त्री टुंगिनुपर्ने हो, तर अझै टुंगिन सकेको छैन,’ उनले भने, ‘शुक्रबारसम्म राज्यमन्त्री बनाउने तयारी हो, नभए आइतबार टुंगिन्छ ।’ सुरेन्द्र आचार्य, इन्द्र बानियाँ, तारामान गुरुङ, जीवन परियार, दिलीप गच्छदार, सुवर्ण ज्वारचन, सीताराम महतो, मिठु मल्ल, रामचन्द्र खड्का, कञ्चनचन्द्र बादे, सरिता प्रसाईंमध्येका नेताबाटै राज्यमन्त्री बनाउने तयारी भएको कांग्रेस स्रोत बताउँछ ।
देउवालाई चार, पौडेललाई तीन, सिटौला खड्कालाई एक–एक दिएर मिलाउने प्रयास भएको बुझिएको छ । १० भदौमा कांग्रेसका १३ मन्त्री टुंगो लागेका थिए। पौडेल पक्षको छलफल राज्यमन्त्रीसहितका विषयमा छलफल गर्न बिहीबार बिहान नेता रामचन्द्र पौडेल निवास बोहराटारमा उनीपक्षीय नेताको बैठक बसेको थियो ।
बैठकमा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. रामशरण महत सहभागी थिए । उनीहरूबीच संविधान संशोधनका विषयमा भइरहेको छलफलबारे पनि कुराकानी भएको पौडेल निकट स्रोत बताउँछ । साथै, राज्यमन्त्रीका आकांक्षी धेरै भएपछि मिलाउनेबारे पनि छलफल भएको थियो ।



