काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार माध्यमले आफ्नो नाम बिगारेर प्रस्तुत गर्ने गरेको भन्दै आपत्ति जनाएका छन् ।
‘मेरो राहदानी, नागरिकता, राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र, मन्त्रिपरिषद्को बैठकमा गर्ने हस्ताक्षर, प्रमुख राजनीतिक दलको बैठकमा गर्ने हस्ताक्षरमा समेत ‘प्रचण्ड’ लेख्ने गरेको छु । तर सञ्चार माध्यमले किन मेरो नाम बिर्गाछ यो मैले बुझ्न सकेको छैन,’ बालुवाटारमा प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई संबोधन गर्दै प्रधानमन्त्रीले भने ।
उनले प्रचण्ड क्रान्ति, परिवर्तनको नाम भएकाले केही सञ्चार माध्यमलाई स्वीकार गर्न गाह्रो भएको बताए ।
सरकारी सञ्चार माध्यमलेसमेत आफ्नो नाम बिगारेको भन्दै उनले सूचना तथा सञ्चारमन्त्रीलाई किन त्यस्तो भइरहेको छ, तत्काल निरुपण गर्न निर्देशन दिए ।
राससले तत्कालै सुधार्यो नाम
प्रधानमन्त्रीको यस्तो आपत्तिपछि सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति ‘रासस’ले तत्काल नाम सुधारेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालमात्र लेख्दै आएको राससले पछिल्लो समाचारमा ‘प्रचण्ड’ पनि लेखेको छ ।

त्यस्तै समाचारमा छोटकरी नाम लेख्नु पर्दा प्रधानमन्त्री दाहाल लेख्दै आएको राससले यसपटक प्रधानमन्त्री प्रचण्ड नै लेखेर समाचार सम्प्रेषण गरेको छ । साझापोस्ट बाट सभार गरिएको ।



