काठमाडौं, ३१ भदौ ।खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर दुर्घटनामा परी पीडित हुने उपभोक्ताले अबदेखि बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् ।
एलपी ग्यास उद्योग संघले भदौ १ गतेदेखि लागू हुने गरी उपभोक्ताका लागि यस्तो व्यवस्था गरेको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
ग्यास उद्योगीको बिमासम्बन्धी मापदण्डमा एकरुपता नहुँदा उद्योगको अवस्था र पीडितको पहुँचका आधारमा पीडितले यस अघिसम्म एकमुस्ट पाँच लाखदेखि २० लाखसम्म क्षतिपूर्ति पाउँदै आएका थिए ।
संघले ५३ वटा खाना पकाउने ग्यास उद्योगको सहकार्यमा तयार पारी कार्यान्वयनमा ल्याएको मापदण्डअनुसार एउटा घटनामा सिलिन्डर पड्केर अधिकतम पाँचजनासम्मको मृत्यु भएमा जनही १० लाख मूल्य बराबरको क्षतिपूर्ति उपलब्ध गराइनेछ ।
संघका अध्यक्ष शिव घिमिरेका अनुसार सोही दुर्घटनामा परि भौतिक पूर्वाधारमा क्षति भएको अवस्थामा अधिकतम ४० लाख रुपैयाँसम्म क्षतिपूर्ति व्यहोर्न व्यवस्था गरिएको छ ।
यस्तै, सोही दुर्घटनामा परी घाइते हुनेको हकमा स्वास्थ्य संस्थाको बिलका आधारमा उपचार खर्चबापत बिमामार्फत १० लाख उपलब्ध गराइनेछ । यसरी संघले सिलिन्डर पड्केर मृत्यु हुने, भौतिक पूर्वाधारमा क्षति भए र घाइते हुनेको पक्षमा दुर्घटनाबापत बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउने मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याएको छ ।



