काठमाडौं, १२ मंसिर । सरकारले आज संविधान संशोधन विधेयक दर्ता गर्ने तयारी गरेको छ । तयार भइसकेको संशोधन मस्यौदामा आज बिहान सत्तारुढ दलहरु बीचमा छलफल गरेर आजै दर्ता गर्ने तयारी छ ।
संशोधन विधेयक पारित गर्न दिउँसो १ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ । यसअघि शुक्रबार दर्ता गर्ने तयारी गरेकोमा सहमतिको प्रयासका लागि भन्दै तत्कालका लागि रोकिएको थियो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकारले आज मन्त्रिपरिषद्बाट संशोधन विधेयक पारित गरी संसद् सचिवालयमा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने संसोधन प्रस्ताव अस्वीकार गर्ने बताइसकेको छ । सरकारले सीमांकन हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाका विषयमा संविधानमा संशोधन गर्न लागेको हो । सरकारले सीमांकनको विषयमा प्रदेश नम्बर ५ का गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान र रोल्पालाई प्रदेश नम्बर ४ र ६ मा मिलाएर सीमांकन हेरफेर गर्ने गरी प्रस्ताव तयार पारेको छ ।
प्रस्तावमा माओवादी केन्द्र र कांग्रेसबाटै चर्काे विरोध भएको छ । सत्तारूढ दल भित्रकै पनि विरोधका बाबजुद सरकारले अन्तिम विकल्प नै प्रदेश–५ का जिल्लाहरूको हेरफेर मात्र रहेको भन्दै पाँचवटा जिल्लाको हेरफेर गर्नेसहितको प्रस्ताव दर्ता गर्न लागेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको लागि पनि संविधान संशोधन आवश्यक रहेको भन्दै संविधान संशोधन पास गरिने बताएका थिए । उनले संविधान संशोधनको विरुद्धमा लाग्नेलाई जनताले सजायँ दिने बताएका थिए ।



