काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसले आफ्नो भागमा परेका १० मन्त्रालयमा एक–एकजना राज्यमन्त्री थप्ने तयारी गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीभित्र सहमति गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राज्यमन्त्रीका लागि नाम पठाउने तयारी गरिरहेको खबर तरुण साप्ताहिकले लेखेको छ ।
आज सोमबार सपथ ग्रहण गर्ने गरी नाम पठाउने तयारी भएको बुझिएको छ । एकपटक पनि अवसर नपाएकालार्य प्राथमिकतामा राखेर नाम पठाउन सभापति देउवाले नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग नाम मागेका थिए ।
१० जनामध्ये ४० प्रतिशत अर्थात् चारजनाको नाम पौडेल र सिटौलासँग मागिएको थियो । चारमध्ये तीनजना पौडेल र एकजना सिटौलासँग नाम मागिएको थियो । जसअनुसार पौडेलले आफ्नो फुपूको नाति सुरेन्द्र आचार्य, प्रकाशमान सिंह निकटस्थ कञ्चनवादे श्रेष्ठ र महामन्त्री डा. शशांक कोइराला निकटस्थ दीपक खड्काको नाम सिफारिस गरेका छन् ।
यस्तै, चौथो नम्बरमा कास्कीका समानुपातिक सांसद जीवन परियारको नाम पनि सिफारिस गरेका छन् । जसमध्ये आचार्यले कपिलवस्तु चारबाट आठ हजार मत ल्याएर चुनाव जितेका थिए । श्रेष्ठले काभ्रे ३ बाट १९ हजार मत ल्याएर चुनाव जितेका थिए । खड्काले संखुवासभा २ बाट ११ हजार मत ल्याएर चुनाव जितेका थिए ।
सिटौलाले संखुवासभाकै तारामा गुरुङको नाम सिफारिस गरेका छन् । सिटौलाकै कोटाबाट स्वास्थ्यमन्त्री बनेका गगन थापाको सहयोगीका रुपमा तारामान राज्यमन्त्री हुने भएका छन् भने पौडेलको भागमा परेका तीनजनाले कुन मन्त्रालय पाउने हुन् ? त्यसको टुंगो हुन बाँकी छ ।
यसैगरी सभापति देउवाले इन्द्रबहादुर बानियाँ, मकवानपुर, गुल्मीकी समानुपातिक सांसद सुवर्ण ज्वारचन, सुनसरीका सांसद सीताराम मेहता, मोरङका सांसद दिलीप गच्छदार, कैलीका सांसद दीर्घराज भाट र समानुपातिक सांसद मिठु मल्लको नाम राज्यमन्त्रीका लागि पठाएका छन् । तरुण साप्ताहिकमा खबर छ ।



