प्युठान, १५ मंसिर । संविधान संशोधनमार्फत पाँच नम्बर प्रदेश टुक्राउने प्रस्ताव सरकारले अघि सारेपछि प्युठानमा आन्दोलन चर्किएको छ ।
स्थानीय युवाहरु स्वतस्फूर्त रुपमा प्रदर्शनमा उत्रिएका छन् । मंगलबार साँझ सरकारले पाँच नम्बर प्रदेश टुक्राउनेसहित चारबुँदे संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएलगत्तै राति नै प्युठानमा युवाहरुले राकेजुलुससहित प्रदर्शन गरेका हुन् ।
स्थानीय युवा अगुवा परिवर्तन देवकोटाका अनुसार युवाहरुले राति १२ बजेसम्म टायर बालेर नाराबाजी गर्दै सदरमुकाममा प्रदर्शन गरेका थिए ।
बुटवलमा पनि प्रदर्शन
यसैगरी सरकारले संसदमा दर्ता गरेको राष्ट्रघाति संबिधान संशोधन प्रस्तावको बिरुद्धमा रुपन्देही बुटवल– ९, दिपनगरबाट आन्दोलन सुरु भएको छ ।
राति करिब ११ बजेर १५ मिनेटमा नेकपा (एमाले) रुपन्देही लेखा सदस्य उमाकान्त बस्याल, नेपाली कांग्रेस बुटवल– ९ का युवा नेता राजु रिजाल, मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवलका अध्यक्ष बिकासजंग बस्न्यात, तरुण दल बुटवल– ९ का सभापति रबि गौचन लगायत युवाहरुको सहभागितामा राके जुलुससहित प्रदर्शन भएको थियो ।






