काठमाडौः चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर अनशन बसेका त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको सहकर्मी डा. केपी सिंहलाई चिकित्साशास्त्र अध्ययन संस्थानको डिन स्वीकार नगर्ने अडानपछि संस्थानभित्र केसीको आन्दोलनका पक्ष/विपक्षमा ध्रुवीकरण बढेको छ ।
ध्रुवीकरणकै कारण चार वर्ष अवधिमा केसीले १० औं पटक सुरु गरेको अनशन अवधि सबैभन्दा लामो बन्न पुगेको छ । अनशन अवधि लम्बिँदा उनको स्वास्थ्य स्थिति गम्भीर बनेपछि चिकित्सकले बोल्नसमेत निषेध गरेका छन् । उनको माग कार्यान्वयनका विषयमा पक्ष र विपक्षमा ध्रवीकरण बढेका कारण तत्काल समस्या समाधान हुन कठिन देखिन्छ ।
सरकारसँगै संस्थानका विभागीय प्रमुखहरूले सिंहको नियुक्ति र योग्यतालाई पूर्ण समर्थन गरेका छन् । सिंहको राजीनामा समस्या समाधान नभएको भन्दै उनीहरूले डा.केसीलाई मध्यमार्गी बाटो रोज्न र आफ्नो जीवन जोगाउन सुझाव दिएका छन् । बुधबार संस्थानका विभागीय प्रमुख र केसी समर्थक त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकबीचको बैठकमा अधिकांश प्राध्यापकले वरिष्ठताको स्पष्ट व्याख्या हुने गरी मापदण्ड तयार भएपछि मात्रै डिन नियुक्तिको प्रश्न उठाउनु स्वाभाविक हुने बताएका थिए ।
सिंहको कार्यकाल तीन महिनामात्रै भएकाले उनलाई काम गर्न दिनुपर्ने र मापदण्डका आधारमा अर्को डिन नियुक्त गर्ने मध्यमार्गी बाटो उनीहरूले सुझाएका छन् । बैठकमा उपस्थित सिंहले आफू निमयम्मत ढंगबाट डिन भएकाले कुनै हालतमा राजीनामा नदिने बताएका थिए ।
‘मेरो मिल्ने साथी हो डा.केसी र उनलाई मैले यसअघिका सबै अनशनमा दिनरात साथ दिएको छु । मलाई लाथ्यो, उनले मलाई मान्छन् तर मैमाथि जाइलागेका छन्’, डा.सिंहले बैठकमा निराश हुँदै भनेका थिए, ‘संस्थानलाई बचाउन मैले पनि पूरै जीवन खर्चेको छु । यसको मूल्यांकन कसले गर्ने ? ’
डा. सिंहको भनाइमा बैठकमा उपस्थित सबै विभागीय प्रमुखहरूले समर्थन जनाउँदै डा. केसीले यथार्थ बुझ्न जरुरी रहेको बताएका थिए । केसी समर्थकले भने डा. सिंहले राजीनामा नदिएसम्म सहमति हुन नसक्ने अडान राखेका थिए ।
विभागीय प्रमुखहरूले डिन नियुक्तिको मापदण्ड बनाउन गठन गरिएको समितिले तय गर्ने मापदण्ड स्वीकार गरी अनशन तोड्न डा.केसीलाई आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालयले संस्थानकै पूर्वडिन डा.रमेशकान्त अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले मापदण्ड निर्माण सुरु गरिसकेको समितिका संयोजक डा. अधिकारीले बताए ।
डा. केसीले डिन बनाउन चाहेका डा. जगदीश अग्रवाल भने मौन छन् । वरिष्ठताका आधारमा संस्थानको डिन नियुक्त हुनुपर्ने डा. केसीको पहिलो माग हो । उमेर, नियुक्ति वा प्राध्यापक बनेको समयमध्ये केलाई वरिष्ठताको आधार मान्ने भन्नेमा स्पष्ट मापदण्ड नहुँदा उनको माग कार्यान्वयनमा जटिलता थपिएको छ ।
त्रिभुवन विश्वविद्यालयले वरिष्ठ भएकै कारण सिंहलाई डिन नियुक्त गरेको दाबी गरेको छ । सिंह संस्थानमा छिटो प्रवेश गरे पनि अग्रवाल प्राध्यापकमा पहिले बढुवा भएका थिए । अग्रवालभन्दा चार वर्ष जेठा सिंह २०४५ मंसिर ६ मा संस्थानमा प्रवेश गरी २०४७ भदौ ३१ मा स्थायी सहायक प्राध्यापक बनेका थिए । सिंह २०५० असार १३ मा उपप्राध्यापक, २०५६ चत १७ मा सहप्राध्यापक हुँदै २०६२ भदौ १७ मा प्राध्यापक बनेका थिए । उनी आगामी फागुन १० मा निवृत्त हुनेछन् ।
भिडियो हेर्नुहोस्
२०४६ पुस ११ मा संस्थानमा सहायक प्राध्यापकका रूपमा प्रवेश गरेका अग्रवाल एक वर्षपछि स्थायी भएका थिए । २०५० भदौ १३ मा उपप्राध्यापक बनेका उनी चार वर्षपछि सहप्राध्यापक बन्दै २०५९ फागुन १६ मा प्राध्यापक बनेका थिए । उनको सेवा अवधि तीन वर्ष बाँकी छ ।
डा. केसी वरिष्ठताका आधारमा अग्रवाललाई डिन बनाउनुपर्ने अडानमै छन् । त्रिवि ऐनमा ‘सर्च कमिटी’ ले सिफारिस भएका सहप्राध्यापक/प्राध्यापकमध्ये कसैलाई नियुक्त गर्न सकिने व्यवस्था गरेको छ ।
संस्थानका सहायक डिन, परीक्षा शाखा डिन, योजना शाखा डिन, नर्सिङ क्याम्पस डिन पद पनि खाली भएको अवस्थामा नियुक्त सिंहले ती सबै शाखाको जिम्मेवारी समाल्नुपर्ने अवस्थामा उनलाई हटाउन नमिल्ने विभागीय प्रमुखहरूले तर्क गरेका छन् ।
वरिष्ठतामै कुरा नमिल्दा सरकार र केसी पक्षबीचको चार दिनदेखिको वार्ता विफल भइरहेको छ । स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेती र शिक्षासचिव शान्तबहादुर श्रेष्ठसँग तीन दिनदेखि वार्ता भइरहे पनि पनि निष्कर्ष निकाल्न सकेका छैनन् । बुधबार साँझ सिंहदरबारमा पनि सहमितको प्रयास भएको थियो ।
यता केसीले अनशन थालेको १८ दिन भइसक्दा पनि सरकार संवेदनशील नदेखाएको भन्दै उनको समर्थनमा काम छाड्ने आवासीय चिकित्सकको संख्या बढ्न थालेको छ । यसअघि मौन रहेको नेपाल चिकित्सकले संघले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
संघको बुधबार बसेको बैठकले केसीको जीवन अत्यन्त गम्भीर मोडमा पुगिसकेको अवस्थामा पनि राज्यलगायत सम्बद्ध पक्षमा आवश्यक संवेदनशीलता नदेखिनु विडम्बना भएको भन्दै उनको जीवनरक्षाका लागि कठोर कदम चाल्न बाध्य भएको चेतावनी दिएको छ ।
संघले मुलुकका सम्पूर्ण निजी एवं सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा सांकेतिक रूपमा बिहीबार बिहान १० देखि ११ बजेसम्म आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ । अन्नपूर्ण पोस्ट बाट सभार गरिएको ।



