काठमाडौं, १९ मंसिर । डा.गोविन्द केसीले आज अनशन तोड्ने तयारी गरेका छन् । केसी समर्थक र सरकारी वार्ता टोली सहमतिनजिक पुगेको सम्झौतामा आज हस्ताक्षर गर्ने र आजै आमरण अनसन तोड्ने सहमति भएको छ ।
केसी समर्थक र सरकारी वार्ता टोलीले १२ बुँदे मस्यौदा तयार पारेको छ । केसीले सहमतिलाई मन्त्रिपरिषद् बैठकले पास गर्नुपर्ने, दुई साताभित्र न्यायिक परिषद् गठन गर्नुपर्नेलगायत विषयमा अडान राखेका छन् । केसीका सहयोगी जीवन क्षेत्रीले पनि दुई पक्षले तयार पारेको मस्यौदामा मोटामोटी सहमति भइसकेकाले आज अनशन तोड्न सक्ने जानकारी दिए ।
केसीले बिहान ९ बजेपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने र त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा राख्ने तयारी गरिएको छ । सहमतिअनुसार अब चिकित्सा शिक्षा ऐन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेजले बिस्तारित वा कुनै पनि तरिकाले नयाँ कार्यक्रम र सम्बन्धन पाउने छैनन् ।
पोष्टग्राजुयट तहको पढाई क्रमश निशुल्क हुनेछ । उपकुलपतिसम्बन्धी मागका बारेमा केदारभक्त माथेमाको संयोजकत्वमा १५ दिनभित्र उच्चस्तरीय समिति गठन गर्ने र कार्यदेश दिएर गठित समितिका प्रतिवेदनका आधारमा निर्णय हुने सहमति भएको छ । यस्तै एमबिबिएसका लागि निर्धारण गरिएको शुल्कसमेत तत्काल कार्यान्वयन गर्ने लगायतका १२ बुँदे सहमति भएका छन् ।



