काठमाडौं, १९ मंसिर । सरकार र डा. गोविन्द केसीबीच १२ बुँदे सहमति भएपछि अनसन तोडेका छन् । गत बैशाख १२ गतेको विनाशकारी भूकम्पमा परेका साढे दुइ बर्षिय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै केसीले २२ दिनपछि अनसन तोडेका हुन् । डा. केसीले अाज ११ बजे अनसन तोडेको सहयोगीले बताए ।
शनिबार साँझ सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच १२ बुँदे सहमति भएको जनाएको छ । डिन केपी सिंहले राजीनामा दिएको भोलिपल्टै जेपी अग्रवाल डिन नियुक्त भएका थिए।
सिन्धुपाल्चोक गुन्सा-४ का मर्साङ आमाको वैशाख १२ को भूकम्पमा ज्यान गयो । भूकम्पले घर हल्लाउन थालेपछि साढे दुइ बर्षिय मर्साङलाइ आमाले बाहिर फ्यालिदिएर बाँचेका थिए । अहिले मर्साङलाइ एक संस्थाले हेरचाह गरिरहेको छ ।
सरकार र डा केसीबीच भएका सहमति
१) वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्ति गर्ने (कार्यान्वयन भइसकेको) ।
२) त्रिवि र प्रतिष्ठानको संरचना परिवर्तन गर्न र पदाधिकारी नियुक्तिको कानुन मस्यौदा बनाउन १५ दिनभित्र उच्चस्तरीय समिति बनाउने ।
३) एमबीबीएस शुल्क उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार र बीडीएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ कायम गर्ने ।
४) चिकित्साशिक्षा आयोगले अर्को शुल्क नतोकेसम्म सोही शुल्क कायम गर्ने र एमबीबीएस वा सो भन्दा माथि भर्ना हुँदा शुल्कको पहिलो किस्ता बैंकमा जम्मा गर्ने ।
५) पूर्वसम्झौताअनुसार चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वायत्तता दिनेबारे सहकुलपतिले त्रिविलाई पुनः निर्देश गर्ने ।
६) संसदमा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित नहुन्जेल मेडिकल कलेजलाई नयाँ मनसायपत्र, आसयपत्रको नवीकरण, सम्बन्धन र विस्तारित कार्यक्रमको अनुमति नदिने । चिकित्साशिक्षा विधेयकमा संशोधनयोग्य विषय व्यवस्थापिका संसद्बाटै सम्बोधन हुने ।
७) दुर्गम र सरकारी विद्यालयमा अध्ययन पूरा गरेका विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमलाई थप सुनिश्चितता गर्ने । ५० प्रतिशत सिटमा निःशुल्क अध्ययन भइरहेको सरकारी संस्थातर्फको चिकित्साशिक्षाको स्नातक तहमा सिटसंख्या शतप्रतिशत पुर्याउने ।
८) जयराम गिरीको प्रतिवेदन कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पुनः लेखी पठाउने । सरकारले आगामी दिनमा नयाँ मेडिकल कलेज स्थापना गर्दा जनसंख्या, भौगोलिक अवस्थिति र नक्सांकन एवम् जयराम गिरी प्रतिवेदनसमेतलाई आधार मान्ने ।
९) मेडिकल तथा डेन्टल कलेजको सम्बन्धन, परीक्षा, शुल्क र सिटसंख्या निर्धारणलगायतमा संलग्न काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलका पदाधिकारी तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षामाथि छानबिनका लागि सरकारलाई तीन महिनाभित्र प्रतिवेदन दिने गरी दुईजना विज्ञसहितको एक उच्चस्तरीय न्यायिक समिति १५ दिनभित्र गठन गर्ने ।
१०) एक प्रदेशमा कम्तीमा एक सरकारी मेडिकल कलेज स्थापना गर्न स्पष्ट कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने ।
११) विगतदेखि हालसम्म भएका सम्झौता र सहमति कार्यान्वयन अवस्था अनुगमन गर्न १५ दिनभित्र एक उच्चस्तरीय अनुगमन समिति गठन गर्ने ।
१२) प्रस्तुत सम्झौतामा उल्लेख गरिएका बुँदामा सम्झौतापछि बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी कार्यान्वयनमा लैजाने ।
को हुन् बालिका मर्साङ ?
मर्साङ तामाङ सिन्धुपाल्चोकको धुन्सा-४ का बालिका हुन् । उनकी आमाको वैशाख १२ को भूकम्पमा ज्यान गयो । भूकम्पको बेला उनी एक वर्ष पनि पुगेकी थिइनन् । भूकम्पले घर हल्लिन थालेपछि आमाले मर्साङलाई बाहिर फ्यालिदिइन् । घर भत्किएर आफू मरे पनि बच्चा बाँचोस् भन्ने ठानेर आमाले बालिकालाई घर बाहिर फ्याँकेको अड्कल स्थानीयहरु लगाउँछन् ।
सिन्धुपाल्चोकका अधिकांश घर जस्तै मर्साङको घर पनि भूकम्पले भत्कियो । गर्भवती आमा भग्नावशेषमा पुरिइन् । अन्ततः उनको मृत्यु भयो ।
आमा कहिल्यै नफर्किने गरी यस संसारबाट विदा भए पनि मर्साङ ज्युँदै थिइन् । बुवा पनि सकुशल रहे । भूकम्प पछि दूधे बालिका मर्साङ केहि समय आफन्तको शरणमा बसिन् । पछि उनलाई बौद्धस्थित ‘हाउस विथ हार्ट’ नामक संस्थाले आश्रय दियो । हाल उनी त्यहि संस्थामै बसिरहेकी ‘हाउस विथ हार्ट’की सुपरभाइजर सर्मिष्ठा थापाले जानकारी दिइन् ।



