नयाँदिल्ली, १ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नेतृत्वले समावेशी संवादमार्फत समाजका सबै तप्काको भावना समेट्दै संविधानको कार्यान्वयन सफलतापूर्वक गर्ने विश्वास गरेका छन् ।
भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड नेतत्वको टोलीसँग दुईपक्षीय छलफलपछि मोदीले पत्रकार सम्मेलमा सुरक्षा निकाय र रक्षा एजेन्सीबीच सहकार्यमा समेत जोड दिएको आजको कान्तिपुरमा खबर छ ।
पत्रकार सम्मेलनमा प्रचण्डले अघिल्लो वर्ष नेपालमा संविधान बन्नु महत्वपूर्ण उपलब्धि भएको जनाउँदै बाँकी असन्तुष्टिलाई सम्बोधन गर्ने बताएका थिए ।
नेपालमा संविधान जारी भए लगत्तैदेखि भारतले निरन्तर रुपमा मधेसी, थारु तथा जनजातिका माग सम्बोधन गर्न दबाब दिइरहेको छ ।
यस अगाडि प्रचण्ड र मोदीबीच भएको कुराकानीमा पनि मोदीले सोही सन्देश दिएका थिए । स्रोतका अनुसार भेटघाटमा मोदीले वर्तमान सरकारले मधेसी र थारुका समस्यालाई सम्बोधनका लागि गरेका प्रयासको प्रशंसा गरे ।
मोदीले संविधान जारी हुनु र कार्यान्वयनमा जाने पक्ष फरक विषय भन्दै यसलाई कार्यान्वयनमा लगेर मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै विकासमा अघि बढ्नुपर्ने बताएका थिए ।



