आश्विन १, २०७३ नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको अध्यक्षमा संस्थापन पक्षकी उमा रेग्मी निर्वाचित हुनुभएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर उम्मेद्वार मीना पाण्डेलाई २ सय २ मतले पराजित गर्दै रेग्मी अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
राती अवेरसम्म भएको निर्वाचनको आज बिहान सार्वजनिक मतगणनाको अन्तिम नजिताअनुसार, रेग्मीले ९ सय ९८ मत प्राप्त गर्नुभयो । पाण्डेले ७ सय ९६ ल्याउनुभयो । गिरिजाप्रसाद कोइराला पुत्री सुजातालाई सर्वसम्मत अध्यक्ष बनाउने पौडेल पक्षको प्रयास असफल भएपछि संस्थापन र कृष्ण सिटौला पक्षबाट रेग्मी तथा पौडेल पक्षबाट पाण्डे अध्यक्षको उम्मेद्वार बन्नु भएको थियो ।
अधिकांश पदमा संस्थापन पक्षका उम्मेद्वार विजयी भएका छन् । महासचिवमा संस्थापन पक्षकै धना खतिवडा निर्वाचित हुनुभयो । निकटतम प्रतिस्पर्धी गोमा केसीलाई १ सय ८१ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । खतिवडाले ९ सय ५८ मत प्राप्त गर्नुभएको छ भने केसीले ७ सय ७७ मत ल्याउनुभयो । यस्तै कुसुम थापा मगरलाई पछि पार्दै कोषाध्यक्षमा जानकी सिंह निर्वाचित हुनुभयो । सिंहले ९ सय ११ र थापाले ८ सय ३ मत ल्याउनुभयो ।
खुल्ला तथा आरक्षित तर्फको अधिकांश केन्द्रीय सदस्यमा समेत संस्थापन पक्षका उम्मेद्वार विजयी भएका छन् । निर्वाचन समितिका अनुसार निर्वाचित भएकामा ८५ प्रतिशत संस्थापन पक्षबाट रहेका छन् । ११ बर्षपछि भएको महिला संघको यो महाधिवेशन तेस्रो हो ।



