२५ मंसिर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा संघीय राज्यको पुनर्संरचना वैज्ञानिक अधारमा नभएकाले समस्या सिर्जना गरेको बताएका छन् । जनकपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले संघीय राज्यको सीमांकन स्रोत–साधनका आधारमा हुनुपर्नेमा पार्टी नेताहरूको स्वार्थमा भएको बताए । उनले भने, ‘मैले दलका नेताहरूलाई पटक–पटक सल्लाह सुझाब दिएको थिए । तर, त्यसलाई उनीहरूले आत्मसात नगरी संविधान ल्याए ।’
विश्वका विभिन्न मुलुकमा वैज्ञानिक हिसाबले संघीय राज्यको सीमांकन गरिएको हुँदा कुनै समस्या नभएको उनको भनाइ छ । उनले भने, ‘तर, हाम्रो मुलुकमा यस हिसाबले गरिएन, परिणाम अहिले विभिन्न स्थानमा विवाद र आन्दोलन भइरहेको छ ।’
उनले त्यसक्रममा लोकतन्त्रका नाममा केही पार्टीले जबर्जस्ती ‘तन्त्र’ लाद्न खोजेको आरोप पनि लगाए । ‘लोकतन्त्रमा सदन र सर्वोच्च अदालत महत्वपूर्ण हुन्छ । त्यसलाई सबैले मान्नैपर्छ ।
तर, यहाँ आफ्ना विचार स्थापित गराउन महिनौँसम्म सदन अवरोध गर्ने काम भइरहेको छ,’ उनले भने, ‘सदन र सर्वोच्चलाई नमान्नुको मतलब युद्धकालीन अवस्था सिर्जना हुनु हो ।’ पहिलो संविधानसभाबाट संविधान आउन नसकेकाले नैतिक जिम्मेवारी पूरा गर्न दोस्रो संविधानसभाबाट संविधान घोषणा गरेको उनले बताए । नयाँ पत्रिका दैनिकमा हदिश खुद्दारले खबर लेखेका छन् ।



