काठमाडौं, २५ मंसिर । विभिन्न आन्दोलन तथा दलीय भागबन्डाको दबाबका कारण त्रिभुवन विश्वविद्यालय निर्णयविहीन हुँदै गएको छ । पछिल्लो समय डा. गोविन्द केसीको आमरण अनशन तथा प्राध्यापकहरूका संघ–संगठनले भागबन्डाका लागि दबाब दिइरहेका कारण त्रिविले महŒवपूर्ण निर्णय गर्न सकेको छैन् ।
त्रिविले विभिन्न संकाय तथा अध्ययन संस्थानमा पूर्णकालीन डिन नियुक्त गर्न सकेको छैन । केन्द्रीय विभाग तथा केही आंगिक क्याम्पसमा समेत उस्तै अवस्था छ । राजनीतिक दलनिकट वैचारिक संगठनहरूले भागबन्डामा नियुक्ति पाएका त्रिवि पदाधिकारीलाई आफ्ना संगठनको प्रभुत्व बढाउन दबाब दिइरहेको कर्मचारीको गुनासो छ ।
डा. केसी अनशन बस्ने डरले त्रिविले मेडिकल शिक्षासम्बन्धी कुनै पनि निर्णय गर्न नसकेको त्रिविका अधिकारीहरू बताउँछन् ।
आधा दर्जन डिन तीनमहिने र निमित्त
अहिले झन्डै आधा दर्जन डिन कार्यालय तीनमहिने र निमित्त डिनहरूले चलाएका छन् । त्रिविको वन विज्ञान अध्ययन संस्थानमा प्रा.डा. कृष्णराज तिवारीले गत २ असोजदेखि तीन महिनाका लागि नियुक्ति पाएका छन् । हाल मानविकी तथा सामाजिक शास्त्र संकायमा तीनमहिने डिनले काम गरिरहेका छन् । अघिल्लो चारवर्षे कार्यकाल सकेका प्रा.डा. चिन्तामणि पोखरेललाई तीन महिनाका लागि भन्दै गत २ असोजमा नियुक्ति दिइएको थियो ।
व्यवस्थापन संकायमा नवराज अधिकारी, शिक्षाशास्त्र संकायमा नेत्रप्रसाद धिताललाई आर्थिक अधिकारसहित निमित्त डिनको जिम्मेवारी दिइएको छ । त्यसैगरी, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा. रामप्रसाद खतिवडाले तीनमहिने कार्यकाल सकेर निमित्त डिनको रूपमा काम गरिरहेका छन् ।
केन्द्रीय विभागमा पनि भद्रगोल
त्रिविका विभिन्न विषयका केन्द्रीय विभागमा समेत उस्तै समस्या छ । जनसंख्या अध्ययन केन्द्रीय विभागमा पूर्ण अवधि सकेका डा. रामशरण पाठकलाई २७ कात्तिकमा दैनिक कार्य सञ्चालनका लागि बढीमा तीन महिनासम्म काम गर्न डिनको जिम्मेवारी दिइएको छ ।
त्रिवि नियमअनुसार तीन महिनाको अवधि दोहो¥याउन नहुने भएपछि तीनमहिने अवधि सकिएकालाई नै निमित्त डिनको जिम्मेवारी दिइएको छ । जल तथा मौसम केन्द्रीय विभागमा डा. दीपक अर्याललाई तीन महिनाका लागि जिम्मेवारी दिइएको छ । नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले खबर लेखेका छन् ।



