असोज १, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संविधानबारे भारतलाई बुझाउन असफल भएको टिप्पणी गरेको छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव ईश्वर पोखरेलले भारत भ्रमणमा रहेका प्रधानमन्त्री संविधानबारे बुझाउन तथा स्वागत र समर्थन प्राप्त गर्न असफल भएको टिप्पणी गरे ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए र २५ बुँदे संयुक्त बक्तव्य जारी भइसकेको छ । जसमा भारतले नेपालको संविधानको स्वागत गरेको छैन । तर, भारतीय प्रधानमन्त्री मोदीले सबै पक्षको भावनालाई समेट्द प्रचण्डको संविधान कार्यान्वयन गर्न नेपाल सफल हुने विश्वास व्यक्त गरेका छ्न ।
बन्न दिन्नौं भन्नेले नै असफल पार्न संशोधनको कुरा गरे
संविधान नबन्दैदेखि कुनै पनि हालतमा बन्न दिन्नौँ भनेर लागेकाहरु नै संविधान बनेपछि त्यसलाई असफल पार्न संशोधनको कुरा उठाउन उद्यत रहेको एमालेले बताएको छ ।
संविधान कार्यान्वयन प्रमुख कार्यभार बनेको भन्दै एमालेले तिनै तहका निर्वाचन गरेपछि मात्रै यो संविधानले परिकल्पना गरेको आर्थिक समृद्धि, सामाजिक न्याय, न्यायोचित विकास र समग्र उन्नतिको ढोका खुल्ने बताएको छ । एमालेले भनेको छ, ‘जनताका प्रतिनिधिका रुपमा यो संविधान हामीले बनाएका हौं र यसको स्वामित्व हामी लिन्छौं । त्यही भएरै यसको रक्षा र कार्यान्वयनमा हामी दृढतापूर्वक उभिन्छौं ।’
स्थानीय तहको पुनःसंरचनामा आलटाल गराउने र निर्वाचनलाई पर धकेल्ने काम योजनाबद्ध रुपमा भइरहेको भन्दै प्रमुख विपक्षी एमालेले वर्तमान सरकार नै निर्वाचन नगर्ने दिशामा अघि बढेको आरोप लगाएको छ ।



