२ पुस । भूकम्प प्रभावित जिल्लामा काम गर्न पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेका अधिकांश आइएनजिओले आफूखुसी काम गरेर प्राधिकरणको कार्यविधिलाई बेवास्ता गरेका छन् । आठ आइएनजिओले त प्राधिकरणको स्वीकृतिसमेत लिएका छैनन् । धेरैले प्राधिकरणलाई प्रगति विवरण बुझाएका छैनन्। बुझाउनेहरूको पनि विवरण अपूर्ण र विवादास्पद छ ।
प्राधिकरणका एक कर्मचारीले करिब ५० प्रतिशत संस्थाले विवरण बुझाएको, तर अपूर्ण र विवादास्पद रहेको जानकारी दिए। प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले आइएनजिओले सम्झौताअनुसार प्रगति विवरण बुझाउन अटेर गरेको बताए। प्राधिकरणले प्रगति विवरण बुझाउन आइएनजिओहरूलाई पत्रसमेत काटेको छ ।
विवरण नबुझाएका आइएनजिओको काम पनि प्रस्ट भएको छैन । प्राधिकरणले पनि सबैको अनुगमन गर्न सकेको छैन । ‘प्राधिकरणले अनुगमन गर्न नसकेको सत्य हो,’ प्रवक्ता थपलियाले भने, ‘स्थानीय तहबाट गुनासोहरू आइरहेका छन् ।’
जिल्लामा काम गर्दा आइएनजिओले स्थानीय एनजिओसँग सहकार्य गर्नुपर्ने हुन्छ । तर, अधिकांश आइएनजिओले आफूखुसी स्थानीय संस्था छनोट गर्ने गरेका छन् भने कार्यविधि अटेर गरेर जिल्लामा आफ्नै कार्यालय खोलेका छन्। केहीले आफूअनुकूलका स्थानीय एनजिओसँग मात्र सहकार्य गरेका छन् ।
अमेरिकाको केयर इन्टरनेसनल नामक आइएनजिओले केयर नेपाल नामक आफ्नै एनजिओबाट काम गरिरहेको छ । प्लान इन्टरनेसनलले पनि प्लान नेपालमार्फत काम गरेको छ ।
आइएनजिओले स्थानीय तहमा एनजिओको सहकार्यमा काम गर्नुपर्ने प्राधिकरणको कार्यविधि छ । तर, बेलायती सहयोगको हेल्प एज इन्टरनेसनल नेपाल र अक्सफाम, जर्मनीको टेर्देस होम्मेस, अमेरिकाको इन्टरनेसनल मेडिकल क्रप्सलगायतका आइएनजिओले स्थानीय सहयोगी संस्थाविना नै काम गरिरहेका छन् ।
हेल्पएज इन्टरनेसनल नेपालको १ अर्ब ४५ करोड रुपैयाँको तीनवर्षे प्रोजेक्ट छ भने अक्सफामको २ अर्ब ४० करोडभन्दा बढी रकमको ४० महिनाको प्रोजेक्ट सञ्चालनमा छ । प्राधिकरणका अनुसार १० करोड ६० लाख रुपैयाँबराबरको प्रोजेक्ट सञ्चालन गरेको क्याथोलिक रिलिफ सर्भिस नामक अमेरिकी संस्थाले पनि कुन एनजिओसँग काम गर्ने भन्ने खुलाएको छैन ।
क्यानडाको सेन्टर फर इन्टरनेसनल स्टडी एन्ड कर्पोरेसनले १ करोड १४ लाख रुपैयाँबराबरको प्रोजेक्ट चलाइरहेको छ । चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन नामक चिनियाँ आइएनजिओले एक करोड रुपैयाँबराबरको प्रोजेक्ट सञ्चालन गरे पनि नेपाली सहयोगी संस्थाबारे खुलाएको छैन ।
एक करोड रुपैयाँबराबरको क्रिश्चियन एड आइएनजिओले स्थानीय सहयोगी संस्थाविनै काम गरिरहेको छ ।
भूकम्पप्रभावित जिल्लामा काम गर्न पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेका केही आइएनजिओले कार्यविधिविपरीत धर्म प्रचार गरेको आरोप लागेको छ ।
मनोसामाजिक परामर्श, सरसफाइ तथा आपत्कालीन व्यवस्थापन सहयोगलगायतका शीर्षकमा काम गर्न अनुमति लिएका संस्थाले धार्मिक गतिविधि गरेको आरोप लागेको प्राधिकरणका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार धर्मप्रचारको आरोप लागेका केही आइएनजिओलाई प्राधिकरणले अप्रत्यक्ष रूपमा स्पष्टीकरण मागेको छ ।
प्राधिकरण स्रोतका अनुसार गोरखामा कार्यरत वल्र्डभिजन इन्टरनेसनल नामक आइएनजिओले चेस नामक एनजिओमार्फत धर्म प्रचार गरेको तथा सीपमूलक तालिम पनि बीचमै छोडेको गुनासो स्थानीयले गरेका थिए । सोही आधारमा प्राधिकरणले १९ मंसिरमा पत्र काटेर वल्र्डभिजनसँग ‘किन कारबाही नगर्ने’ भनेर स्पष्टीकरण मागेको छ । खानेपानी, शिक्षा, जीवनस्तर सुधारलगायतका कार्यक्रम सञ्चालनको स्वीकृति लिएका क्रिश्चियन एड नेपाल, फिन चर्च एड फाउन्डेसन नेपाल, पिस विन्डस्, लुथरन वल्र्ड, कारितास नेपाललगायतका संस्थाले पनि धर्म प्रचार गरेको गुनासो आएको प्राधिकरण स्रोतको भनाइ छ ।
यी संस्थाले करिब ६ अर्ब रुपैयाँबराबरको कार्यक्रम भूकम्पप्रभावित जिल्लामा सञ्चालन गरेका छन् । कार्यविधिअनुसार स्वीकृति लिएनन् भूकम्पप्रभावित जिल्लामा कार्यक्रम सञ्चालन गर्न आइएनजिओले समाज कल्याण परिषद् र पुनर्निर्माण प्राधिकरण दुवैबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, परिषद्बाट स्वीकृति लिएकामध्ये आठ आइएनजिओले प्राधिकरणबाट स्वीकृति लिएका छैनन् । नयाँ पत्रिका दैनिकमा योगेश ढकालको खबर लेखेका छन् ।



