काठमाडौं, २ पुस । सभामुख ओनसरी घर्ती मगरले प्रमुख दलहरुबीच संविधान संशोधन प्रस्तावको बारेमा सहमति नभए पनि संसदीय प्रक्रिया नरोकिने बताएकी छिन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेको कारण अहिले सदन चल्न सकिरहेको छैन । दलहरुको विमतिका कारण संसदमा रहेका दर्जनौ कानुन रोकिएको, महाअभियोग प्रस्ताव अघि बढ्न नसकेको उनले बताइन् ।
अख्तियार प्रमुख लोकमान सिंह कार्कीमा संसदमा जारी महाअभियोग प्रस्तावमाथिको छलफल पनि एमालेको संसद अवरोधका कारण अवरुद्ध भइरहेको छ ।
सभामुख घर्तीले संसदीय प्रक्रियाबाट भएपनि निकास निकाल्ने जानकारी दिइन् । उनले दलहरुबीच केही दिनमा सहमति हुने तयारी भइरहेको सूचना आफूले पाएको जानकारी दिइन् ।
आफ्नो तर्फबाट सहमतिको लागि निरन्तर प्रयास गरिरहेको सभामुख घर्तीले बताइन् ।



