६ पुस । ‘युवा संघ जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानेको मैले हो, पहिला गोली हानेर तर्साउँदासमेत सुध्रिएन । उसले मेरा केटाहरुलाई पक्राउ गराएर मलाई समेत नेपालमा बसिखान दिएन, एमालेका मान्छेलाई अब छानी-छानी गोली हान्छु, गोली हानेको एक घण्टामै विभिन्न घटनामा फरार अभियुक्त देवदहकै मनोज बुढा मगरले एमाले रुपन्देही जिल्ला कमिटीका पूर्वसदस्य ध्रुव खरेललाई फोनमा भने ।
तिवारीलाई गोली लागेको र देवदह मेडिकल कलेज भलुही लगेको जानकारी पाएपछि त्यहाँ पुगेका खरेलसंगै थिए, इलाका प्रहरी बुटवलका डिएसपी मुकुन्द मरासिनी । मनोजले छानी-छानी गोली हान्ने धम्की दिएपछि खरेलले मरासिनीलाई मोबाइल दिए । डिएसपीले सोधखोज गर्दा उताबाट आवाज आयो- हो, मैले नै हो दुर्गालाई गोली हान्न लगाएको । मलाई खोज्ने र पक्रने प्रयास नगर्नुहोला, त्यसबेला जे पनि हुन सक्छ ।
दिनदहाडै व्यस्त बजारनजिकै गोली हानेर फोनमा स्वीकार गर्ने तर संलग्न अभियुक्त पक्राउ नपरेको घटनाले जनजीवन त्रस्त बनेको छ। तिवारीलाई गोली हानेको एक घण्टाभित्र उनै मनोजले खरेलसहित देवदह क्षेत्रका आधा दर्जन व्यक्तिलाई मोबाइलमा फोन गरी आक्रमणको धम्की दिएका थिए । स्थानीय देवदह एफएममा फोन गर्दै हत्याको जिम्मेवारीसमेत लिए ।
उताबाट आएको आवाज मनोजकै भएको फोनमा कुराकानी गरेका व्यक्तिले बताएका छन् । उताबाट फोन नम्बर नआई अननोन देखाएकाले कहाँबाट फोन गर्यो पत्ता लगाउन तत्काल कठिन भएको प्रहरीको भनाइ छ । जनआस्था साप्ताहिकमा खबर छ ।



