७ पुस । नायिका शिल्पा पोख्रेल आज आफ्नो जन्मदिन मनाउँदैछिन् । उनले आज आफ्नो जन्मदिन मनाउन लागेपनि कतिऔँ जन्मदिन हो त्यस बारेमा भने खुलाईनन् । साढे चार बर्ष पहिलो ग्ल्यामरको दुनियामा कदम राखेकी शिल्पाले छोटो समयमा नै फिल्मी क्षेत्रमा सफलता पाएकी छिन् । हाल उनी अभिनेत्री मात्रै हैन निर्मात्री पनि बन्ने तरखरमा छिन् । निर्मात्रीको रुपमा उनले सिनेमा मंगलमबाट ब्रेक लिँदै छिन् ।
ग्ल्यामरको दुनियाँमा आएको एक वर्षको अवधिमा झण्डै सय भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरेकी उनले सिनेमा लज्जा मार्फत सिनेमामा ब्रेक लिएकी हुन् । उनलाई डेब्यु सिनेमाले नै सफल नायिकाको परिचय दियो । जसले उनलाई अझ राम्रो गर्ने हौसला प्रदान गर्यो ।
छविराज ब्यानरबाट अभिनयमा ब्रेक लिएकी उनले हालसम्म लज्जा, हवल्दार सुन्तली, किस्मत २ र फागु मा काम गरिसकेकी छिन् । उनी आफ्नो जीवन नेपाली सिनेमाकै लागि सुम्पिने भन्दै भविष्यमा सिनेमा क्षेत्रमै जतिसक्यो राम्रो गर्न कोसीस गर्ने पनि बताईन् ।
सिनेमा मंगलमबाट निर्मात्री बन्न लागेकी शिल्पालाई यो सिनेमा नै यो वर्षको जन्मदिनको सबैभन्दा ठूलो उपहार बन्यो । जुन उपहार उनले निर्माता छविराज ओझाबाट पाएकी हुन् । उनले यो आफ्नो लागि जन्मदिनको मात्रै नभएर जीवनकै ठूलो सरप्राईज भएको पनि बताईन् । टिभि अन्नपुर्णमा समाचार छ । यसका साथै उनी सिनेमामा लिड रोलमा पनि छिन् । सिनेमाको काम माघ १५ भित्रै सुरु हुने जानकारी उनले हामीलाई दिएकी छिन् ।
उनको जन्मदिनको अवसर पारेर करिअरमा सबैभन्दा राम्रो लागेको र खुसी मिलेको काम कुन थियो भनेर सोध्दा शिल्पाले भनिन्, सिनेमा लज्जा । सिनेमा लज्जा उनले ब्रेक लिएको सिनेमा थियो । त्यसकारण सिनेमा लज्जा रिलिज हुँदा उनी निकै डराएकी थिईन् । किनकी उनलाई आफ्नो पहिलो सिनेमा दर्शकले मन पराउलान् कि नपराउन् भन्ने पीर थियो ।
यहि डर र पीरका कारण उनले सिनेमा रिलिज भएको दिन दिउँसो १२ बजेसम्म मोबाईल अफ गरेकी थिईन् । पहिलो शो सकिएपछि १२ बजे शिल्पाले मोबाईल खोलिन् । तर उनले मोबाईल खोल्ने बित्तिकै सिनेमामा राम्रो काम गरेको भन्दै प्रशंसा पाईन् । जसले उनलाई निकै खुसी दियो । यो नै उनको जीवनको सबैभन्दा राम्रो र खुसी दिएको काम थियो ।



