१० पुस । नेकपा एमाले का महासचिव ईश्वर पोखरेलले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव स्थगन गर्नुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल बागलुङ शाखाले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा नेता पोखरलले संविधान संशोधन अहिलेको आवश्यकता
नभएको उल्लेख गर्दै भने, ‘सरकारले संशोधन प्रस्ताव फिर्ता लिन नसक्ने हो भने स्थगित गरोस् । ‘
उनले अहिलेको संशोधन प्रस्ताव राष्ट्रिय हितको प्रतिकूल रहेको जिकिर गर्दै संविधान संशोधनको विपक्षमा एमाले नरहेको तर अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुन सक्ने विचार राखे । संशोधन प्रस्तावमा ल्याइएका भाषा, नागरिकता, प्रतिनिधित्व र सीमा हेरफेर सम्बन्धी बुँदामा एमाले सहमत हुन नसक्ने उनको भनाइ छ ।
‘प्रदेशको सीमा हेरफेर हुनसक्छ, तर संवैधानिक व्यवस्था अनुसार हुनुपर्छ’ नेता पोखरेलले भने, ‘प्रदेशसभालाई मात्र त्यो अधिकार छ, संविधानको धारा २७४ मा त्यो स्पष्ट किटान गरिएको छ ।’
संशोधन प्रस्तावमा छलफल समेत हुन नदिइने बताउँदै नेता पोखरेलले सरकारलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । ‘संशोधन प्रस्ताव स्थगन गरेर सरकारले मुलुकलाई निर्वाचनतिर लगोस्, एमाले पूर्ण रुपमा सहयोग गर्न तयार छ’ पोखरेलले भने । निर्वाचनसँगै संविधान पनि कार्यान्वयनमा जाने उनको भनाइ छ ।रासस



