काठमाडौँ, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्न नदिएर जनान्दोलन र लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई उल्टाउने जमर्काे भइरहेको बताउनुभएको छ ।
नेपाल तामाङ घेदुङले यहाँ आज आयोजना गरेको ‘नेपाल तामाङ घेदुङ प्रदेश–३ प्रादेशिक भेला’मा उहाँले भन्नुभयो, “संविधान संशोधनको प्रस्तावमा लोकतान्त्रिक भनिने पार्टीले संसद् चल्न– बहस गर्न दिएको छैन, यहाँ परिवर्तनलाई उल्टाउने जमर्काे भइरहेको छ, उल्टाउने प्रयास भए अर्को विद्रोहको तयारी हुन्छ ।”
उहाँले तामसालिङ राज्य हुनुपर्छ भनेर माओवादीले नै स्थापित गरेको र आगामी दिनमा पनि उनीहरुको मागप्रति सरकार र पार्टी गम्भीर रहेको बताउनुभयो । जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने माग गर्दै घेदुङले ९१४ तामाङले जनयुद्धमा बलिदानी दिएकाले सो विषयमा गम्भीर हुन आग्रह गरेको थियो ।



