चीनको सिचुआन प्रान्तको मियानयाङ विमानस्थलमा एक अचम्मको घटना सार्वजनिक भएको छ । एक व्यक्तिले विमान उड्नुभन्दा ठीक अघि इमर्जेन्सी गेट खोलिदिए ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार, ती व्यक्तिको थर चेन हो । उनले आफूलाई गर्मी लागेको र ताजा हावा लिन चाहेको बताए । प्रहरीले उनलाई हिरासतमा लिएको छ ।
हाईनान आईल्यान्डबाट फर्किरहेका चेनले गर्मी अनुभव गरेको बताए । आफूले झ्याल खोलेको जस्तो लागेको तर त्यो इमर्जेन्सी गेट भएको पछि थाहा पाएको उनले बताए । बेस्सरी धकेल्दा पूरा प्यानल नै तल खसेको थियो ।
घटनापछि विमानको उडान केही समयका लागि स्थगित भयो । प्रहरीले चेनलाई १५ दिनको हिरासतमा पठायो ।
उनीमाथि एयरलाइन्सको नोक्सानीका लागि क्षतिपूर्तिस्वरूप ११ हजार डलर जरिवाना पनि लगाइएको छ ।
समाचारमा एयरलाइन्सको नाम सार्वजनिक गरिएको छैन । सुरक्षा निकायसँग मिलेर एयरलाइन्सले घटनाको जाँच गरिरहेको छ ।
चीनमा यसअघि पनि विमानको इमर्जेन्सी गेट खोलका घटनाहरू सार्वजनिक भइसकेका छन् ।



