भक्तपुर, ३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकीले अह्राएका चार जनालाई मन परेन भन्दैमा संविधान संशोधन नहुने बताएका छन् ।
संविधान दिवसका अवसरमा युवा सङ्घ नेपाल २ नं क्षेत्रीय कमिटी भक्तपुरले सोमबार थिमिमा आयोजना गरेको शुभकामना एवम् कार्यकर्ता भेलामा पूर्वप्रधानमन्त्री ओलीले भने, ‘संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्र भइरहेको छ ,९२ प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधान सर्वस्वीकार्य भएन भन्नु गलत हो ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मामलामा भारतको पछि लाग्छौँ भन्नु गलत भएको बताउँदै अन्तर्राष्ट्रिय मामिलालाई कमजोर पार्ने प्रयास गरेको आरोप लागाए ।
जनताका लागि नभई छिमेकी मुलुकलाई खुसी पार्न संविधान संशोधन गर्ने कार्य कदापि नहुने जिकिर गर्दै उनले प्रश्न गरे– संविधान कार्यान्वयन गर्ने अघिल्लो सरकारको कार्यतालिका कहाँ गयो ?
नेता ओलीले बाहिरबाट आएकाहरुलाई नागरिकता दिएर राष्ट्रपति, प्रधानमन्त्री बनाउन संविधान संशोधन हुन नसक्ने जिकिर गर्दै भने – “भारतले अरु देशबाट भित्रिएका बुहारीलाई नमान्ने तर नेपालमा भने उताबाट आएकालाई नागरिकता दिएर राष्ट्रपति, प्रधानमन्त्री बनाउने काम हुन सक्र्दैन ।”
अहिले नेपाली काँग्रेस सिद्धान्त र विचारबाट पलायन भएको आरोप लगाउँदै ओलीले बिपी बाबुको नाम भजाउँदै देश बिगार्ने खेलमा लाग्नुभन्दा देश जोगाउन काँग्रेसलाई सल्लाह दिए ।
कार्यक्रममा पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य अग्निप्रसाद खरेल, पूर्वउद्योगमन्त्री महेश बस्नेत, सांसद केदार सञ्जेल, एमाले केन्द्रीय सदस्य नीरु पाल, युवा सङ्घका केन्द्रीय अध्यक्ष राजीव पहारी र उपाध्यक्ष रमेश पौडेल, युवा सङ्घ नेपाल २ नं क्षेत्रीय कमिटी भक्तपुरका अध्यक्ष रवि श्रेष्ठलगायतले संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र भए एमालेले आन्दोलन छेड्ने चेतावनी दिए ।



