कहिलेकाँही मानिस जहाँ र जहिले पनि बेहोस हुन सक्छन् । त्यस्तो अवस्थामा नजिकै रहेको मानिसको भूमिका बढी हुन्छ । उसैले नै उक्त बेहोस व्यक्तिको ज्यान बचाउन सक्छ ।सामान्यत मानिस तीन कारणले बेहोस हुने गर्छन् । मस्तिष्कमा इपिलेप्सी हुँदा, ट्युमरलगायतको कारणले बोहोस हुन सक्छ । यस्तो अवस्थामा मानिस बेहोस भए पनि रक्तसञ्चारचाहिँ हुन्छ । किनकि त्यतिवेला मुटुले काम गरिरहेको हुन्छ । यसरी बेहोस भएको मानिसको हातखुट्टा चल्ने, जिउ तन्किने, मुखबाट फिज आउनेलगायत हुन्छ । यसरी बोहोस भएका मानिसको नाडी र पल्स पनि चलेको हुन्छ ।अर्कोचाहिँ मुटुको कारणले बेहोस हुन्छन् । यस्तो अवस्थामा मानिसको रक्तसञ्चार नै रोकिन्छ । किनभने, मानिसमा रक्तचापको यतिसम्म हुनुपर्छ, जसले मस्तिष्कमा रक्तसञ्चार गर्न सकोस् ।तेस्रो कारण हो मस्तिष्कमा अक्सिजनकोे कमी, गर्मी, बढी पसिना, उच्च रक्तचापको औषधि अत्यधिक सेवनलगायतका कारणले बेहोसीको समस्या हुन्छ । यस्तो समस्या त्यति खतरा हुँदैन ।
बेहोस भए के गर्ने
सर्वप्रथम बेहोस भएको मानिसलाई देब्रे कोल्टो पारेर सुताउनुपर्छ । देब्रे खुट्टालाई सीधा पारी दाहिनेलाई खुम्च्याइदिनुपर्छ । त्यस्तै, देब्रे हातलाई खुम्च्याउनुपर्छ र दाहिनेलाई चिउँडोको तल राख्नुपर्छ । कहिल्यै पनि नाक थुन्ने, पानी खुवाउन खोज्नेलगायतको गतिविधि गर्नु हुँदैन ।ब्लडप्रेसर न्यून भएर बेहोस भएको अवस्थामा पहिला मानिसको खुट्टा उचालिदिनुपर्छ र सिरानी झिकिदिनुपर्छ । ताकि खुट्टातिरबाट रगत मस्तिष्कमा पुगोस् । यस्तो अवस्थामा मानिसलाई बसाउने, केही कुरा खुवाउन खोज्ने, दाँत उप्काउनेलगायतका गल्ती गर्नु हुँदैन ।
कार्डियो क्यारेस्टका कारण बोहेस भई विश्वमा धेरै मानिसको मृत्यु हुने गरेको छ । यस्तो अवस्थामा पहिला बिरामीलाई भुइँमा सुताउनुपर्छ । एउटा हातमाथि अर्को हात राखी औँला छिराएर हत्केलाले छातीको बीच भागमा थिच्नुपर्छ । प्रतिमिनेट सयदेखि एक सय २० पटक दुई इन्च तलसम्म थिच्नुपर्ने हुन्छ । यस्तो अवस्थामा श्वासप्रश्वासबारे पनि विचार गर्नुपर्छ । त्यसपश्चात् एक सेकेन्डभित्रै नाक बन्द गरेर मुखबाट कृत्रिम श्वास दिनुपर्छ । यस्तो श्वास दिँदा छाती माथि उठेको देखिनुपर्छ । यसो गर्यो भने मानिसको बाँच्ने सम्भावना बढेर जान्छ ।



