एजेन्सी, ८ असार । इंगल्याण्डका चार वर्षिय बालक चार्ली बेटीले मरेको मानिसहरुको कुरा गर्नुको साथै पूर्वजन्मको कुरा गर्ने उनको आमा मेगन बेटीले बताएकी छन् । उनले एक दिन खाना अड्किएको कारण आफ्नो मृत्यु भएको र पूर्वजन्मका बुवाको डुबेर मृत्यु हुने गरेको बताएपछि उनले पूर्वजन्मको कुरा गर्ने दाबी गरेकी हुन ।
चार्ली बेटीले बारम्बार आफ्नो पूर्वजन्मको कुरा गरेर आमा मेगनलाई चकित तुल्याउने गरेका छन् । सोमरेसेट ब्रिडवाटरकी मेगन भन्छिन्, ‘मेरो छोराले सधैंभरी आफ्नो पूर्वजन्मको कुरा गरिरहन्छन् ।’ ‘उनले निकै पुरानो नाम प्रयोग गर्छन् र आफ्नो बुवाको कसरी मृत्यु भएको थियो भन्ने जानकारी दिन्छन् ।’ ‘उनी निकै अचम्मका छन् किनभने उनको उमेर चार वर्षमात्र भएको छ । बोल्न थालेदेखि नै उनले यस्तो कुरा गर्न थालेका हुन् । उमेर बढेसँगै उनको यसबारे कुरा पनि बढेको छ ।’
‘जब तपाईंले उसलाई यसबारे सोध्नुभयो भने उसले भन्दैन । आफूलाई मन लागेका बेला मात्र उसले कुरा गर्छ ।’ ‘एक दिन जब मैले होसियार भएर खाउ, नभए अड्किन्छ भनेको थिएँ,’ उसले यसको जवाफमा भन्यो, ‘हो नि, मलाई बच्चा बेलामा अड्किएको थियो ।’ मैले उनलाई त्यसपछि के भयो भनेर सोध्दा उसले भन्यो, ‘मेरो मृत्यु भयो, त्यसपछि म सधैंको लागि बिदा भए । मेरी आमा निकै दुःखी हुनुभएको थियो ।’ ‘चार वर्षको बच्चाले यस्तो कुरा गर्नु निकै अचम्म हो ।
उनी दुई वर्षको हुँदा देखि नै आफ्नो ‘बुवा’ बारे कुरा गर्दथे ।’ उनी थप्छिन्, ‘स्कूलमा छोराले उनको बुवाको डुबेको कारण मृत्यु भएको भनेपछि स्कूलकी शिक्षिकाले मसँग सम्पर्क गरिन् । मैले उनलाई उनको बुवाको अवस्था ठिक छ भनेर स्पष्टिकरण दिनु पर्यो ।’ चार सन्तानकी आमा मेगनले चार्लीको एउटा फोटो सेयर गरेकी छिन् ।
उक्त फोटोमा चार्लीको टाउकोमाथि अचम्मको प्रकाश देखिएको छ । यो उनको पूर्वजन्मको संकेत हुनसक्ने मेगनको अनुमान छ । उनी भन्छिन्, ‘उनी सधैं अन्य बालबालिकाभन्दा फरक छन् । त्यसकारण मलाई लाग्यो कि उनको टाउको माथिको प्रकाश लाइटको खेल हुनसक्छ ।’ यसबारे प्यारानोमल एक्सपर्ट जूली कन्क्राफ्टले रुची देखाएकी छिन् । जूली भन्छिन्, ‘यो निकै रोचक केस हो । निश्चित नै यो बच्चाको दिमागमा पूर्व जन्मको याद अझै पनि ताजा छ । उनी त्यसैबारे कुरा गर्छन् । यति कम उमेरमा बच्चाले झुटो पनि बोल्दैनन् । ’



