मस्को- विश्वकप फुटबलअन्तर्गत नकआउट चरणको खेलमा सोमबार राती सर्वाधिक विजेता ब्राजिलले मेक्सिकोसँग खेल्दै छ। यो खेल पौने ८ बजे सुरु हुने छ।
साविक विजेता जर्मनी, साविक उपविजेता अर्जेन्टिना , साविक युरोकप विजेता पोर्चुगल, सन् २०१० को विश्वकप विजेता स्पेन बाहिरिसकेको अवस्थामा ब्राजिल पनि दबाबमा छ।
ब्राजिलले समूहगत चरणको पहिलो खेलमा स्विजरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको थियो। त्यसपछिका खेलमा कोस्टारिका र सर्बियालाई समान २-० गोलले पराजित गर्दै ब्राजिल समूह विजेता बनेर दोस्रो चरण पुगेको हो।
मेक्सिकोले समूहगत चरणको पहिलो खेलमा जर्मनीलाई १-० र दोस्रो खेलमा दक्षिण कोरियालाई २-१ गोलले हराएको थियो भने तेस्रो तथा अन्तिम खेलमा स्विडेनसँग ३-० गोलको हार ब्यहोरेको थियो।
ब्राजिलले पछिल्ला १४ खेलमा हार ब्यहोरेको छैन। उसले अन्तिमपटक गत वर्षको जुनमा अर्जेन्टिनासँग १-० गोलको पराजय सामना गरेको थियो।
ब्राजिल र मेक्सिकोबीच अन्तिमपटक सन् २०१५ को जुनमा प्रतिस्पर्धा भएको थियो मैत्रिपुर्ण खेलमा जसमा ब्राजिल २-० गोलले विजयी भएको थियो।
त्यसअघि सन् २०१४ को विश्वकपमा यी दुई टोली समूहगत चरणमा भिडेका थिए जुन गोलरहित बराबरीमा सकिएको थियो। ब्राजिलले पछिल्ला तीन खेलमा मेक्सिकोलाई गोल गर्न दिएको छैन।
अन्तिमपटक सन् २०१२ मा मात्र मेक्सिकोले ब्राजिललाई हराएको थियो मैत्रिपुर्ण खेलमा २-० गोलले। यी दुई टोलीबीच भएका पछिल्ला नौमध्ये ८ खेलमा कम्तिमा एक गोल भएको छ।
सन् २००२ पछि विश्वकप जित्ने प्रयाशमा रहेको ब्राजिल गत विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७-१ गोलले पराजित भएपछि विश्व फुटबलमा आफ्नो शाख फर्काउने प्रयाशमा छ। टोलीका स्टार स्ट्राइकर नेईमार भने लयमा छैनन्।



