संयुक्त अधिराज्यको लीड्स शहरको एउटा विद्यालयले जबरजस्ती गराइने विवाहलाई रोक्न विद्यार्थीहरूलाई चम्चा दिएको छ ।
यो सचेतना अभियानको क्रममा उनीहरूलाई यात्रा गर्दा ती चम्चाहरू आफ्ना भित्री कपडाहरू जस्तै कट्टुमा लुकाउन पनि सिकाइएको छ । यसो गर्दा विमानस्थलमा सुरक्षा जाँचको क्रममा प्रयोग गरिने यन्त्र (मेटल डिटेक्टर) ले त्यो धातुको चम्चाको आवाज निकाल्छ ।
त्यहाँको कोपरेटिभ एकेडेमीका विद्यार्थीहरूलाई यदि उनीहरूलाई विदेश लगेर दबाबमा विहे गराईंदै छ भन्ने डर वा शंका लागेमा त्यो चम्चा आफ्नो शरीरमा लुकाएर यात्रा गर्न सल्लाह दिइएको छ । यो तरिका अपनाए विमानस्थलहरूमा प्रयोग गरिने मेटल डिटेक्टर बज्ने छ र सुरक्षा कर्मचारीहरूको ध्यान गोप्यरुपमा खिच्न सकिन्छ ।
विद्यालयकी हरिन्दर कौर भन्छिन्, ‘यी चम्चाहरूको प्रयोगले जीवन बचाउन’ सकिन्छ । उनले भने अनुसार संयुक्त अधिराज्यसँग सम्बन्धित ८० प्रतिशत बलजफती गरिने विवाहहरू गर्मी बिदाको बेलामा देशबाहिर हुने गरेको पाइएको छ ।
‘हामीलाई थाहा छ, छ हप्ताको लामो छुट्टीमा विद्यालय र विद्यार्थीहरूका परिवारहरूबीच कुनै सञ्चार हुँदैन । यो मौकामा ती परिवारहरू देशबाहिर जान्छन्, आफ्ना बालबालिकाको विवाह गर्छन् र यहाँ फर्कन्छन्’ उनले भनिन् ।
“यो हाम्रो विद्यालयका बालबालिकालाई सुरक्षाको बाटो छ है भनेर सचेत गराउने प्रक्रिया हो,” उनले थपिन् ।
सन् २०१४ को जुन महिनादेखि विवाह गर्न बाध्य बनाउने क्रियाकलाप दण्डनीय अपराधकोरुपमा कानून मार्फत् लागू भएको छ ।
छोराछोरीहरूलाई जबरजस्ती विवाह गराउने बाबुआमाले सात वर्षसम्मको कारागारको सजाय भोग्नु पर्ने हुन्छ । यो अभियान विरुद्ध लागेका धेरै संघसंस्थाहरू त्यहाँ सक्रिय छन् ।
साभारः– बीबीसी



