एजेन्सी, भारतको उत्तर प्रदेशस्थित एक गाउँमा रोटी डाढएको भन्दै एक व्यक्तिले श्रीमतीलाई घरबाट निकालेका छन् । रोटी सेक्ने क्रममा डढेपछि मुस्लिम समुदायका एक युवकले आफ्नी श्रीमतीलाई तीन तलाक भन्दै घरबाट निकालिदिएका हुन् ।
उत्तरप्रदेशको महोबा जिल्लास्थित पहरेथा गाउँकी २४ वर्षीया एक युवतीले आफुलाई रोटी डढेको निहुँमा लोग्नेले तलाक दिएर घरबाट निकालेको उजुरी स्थानीय प्रहरी चौकीमा गरेपछि घटनाको खुलासा भएको हो । रोटी डढाएको निहुँमा पत्नीलाई तलाक दिने युवकको नाम निहाल खाँ हो । उनीहरुबीच गत जुलाई ४ मा विवाह भएको थियो ।
नवविवाहिता ती युवतीका अनुसार तलाक भनेर घरबाट बाहिर निकाल्नु भन्दा ३ दिनअघि उनलाई पतिले जलिरहेको चुरोटले शरिरका विभिन्न भागमा पोलिदिएका थिए । आफूलाई लोग्नेले तलाक भनेर घरबाट निकालेको भन्दै स्थानीय प्रहरी चौकीमा उजुरी गर्न गएकी ती युवतीलाई सुरुमा त प्रहरीले गाली गरेर पठाएछ ।
तर उनले हिम्मत नहारीकन माथिल्लो तहको पुलिस चौकीमा उजुरी गर्न पुगिन् । जहाँ उनको कुरा सुनुवाइ भयो । प्रहरी अधिक्षक कार्यालयले मातहतको स्थानीय पुलिस चौकीलाई उक्त घटनाको छानविन गर्न र श्रीमतीमाथि अत्याचार गर्ने युवक निहाल खाँ माथि घरेलु हिंसाको मुद्दा चलाउन आदेश दिएको छ ।



