कठमाडौं, ४ असोज । अन्तर्राष्ट्रिय विमानस्थलका ट्याक्सीचालकले पर्यटकलाई ठग्ने गुनासो बढेपछि आइतबार राति पर्यटनमन्त्री जीवनबहादुर शाहीले छड्के गरेका छन् ।
पर्यटककाे भेषमा विमानस्थलदेखि ठमेलसम्म ट्याक्सी चढेका उनलाई पनि चालकले ठग्न खोजेको आजको नयाँ पत्रिकामा खबर छ ।
दौरा सुरुवाल लगाएर झन्डावाल गाडीमा राति विमानस्थल पुगेका मन्त्री शाही सीधै भिआइपी कक्षको भित्री कोठामा पसे । र, कालो पाइन्ट, सेतो टिसर्ट, ह्याट र कालो चस्मामा सजिएर पर्यटकको भेषमा बाहिर निस्किए ।
मन्त्री शाही इत्तेहाद एयर ल्यान्ड गरेको समयमा एयरपोर्ट पुगेका थिए । इमिग्रेसनमा पासपोर्ट माग्दा गोजीमा हात हालेजस्तो गरेर फुत्किएको उनले बताए । ‘एयरपोर्टमा ट्याक्सीले पर्यटककालार्य दुःख दिने, तान्ने, भनेको होटलमा नपु¥याउने भएपछि वास्तविकता थाहा पाउन आफैं पर्यटक बनेर एयरपोर्टदेखि ठमेलको होटलसम्म पुगेको हुँ’ मन्त्री शाहीले भने, ट्याक्सीवालाहरुले दुःख दिने हो रहेछ । यस्ता गतिविधिलाई सुधार्न नागरिक उड्डयनको जिएमलाई निर्देशन दिएको छु ।
पर्यटक बनेका मन्त्री शाहीलाई बाहिर निस्कने बित्तिकै ट्याक्सीवालाले घेरेर तानातान गर्न थाले । उनले आफूलाई भारतीय मूलको अमेरिकन भएको र नेपाल घुम्न आएको बताए । ट्याक्सीवालाहरुले ठमेल पु¥याएको भाडा १५ डलरसम्म लाग्ने बताए । एकछिनको बार्गेनिङपछि ७ डलर (सात सय) मा कुरो मिलाएर उनी बा१ग १०१६ नम्बरको ट्याक्सीमा चढे ।
साथीले आफूलाई काठमाडौं गेस्ट हाउस जान सुझाएको भन्दै मन्त्री शाहीले ट्याक्सी चालकलाई सोही गेस्टहाउस लैजान भनेका थिए । तर, ट्याक्सी चालकले दियालो हिमालयमा लागिदियो । शाहिले होटल मन परेन भनेपछि नजिकैको अर्को होटलमा लगिदियो । अन्तिममा मात्रै काठमाडौं गेस्ट हाउसपु¥यो ।
ट्याक्सीलाई कोठा बुक गर्छु भन्दै होटलमा छिरे । एसी भएको कोठाको २ सय डलर र त्यसमा ६० प्रतिशत छुट तथा एसी नभएको कोठाको ८० डलर र त्यसमा ५० प्रतिशत छुट दिइने होटल म्यानेजरले उनलाई सुनाए ।
होटलबाट बाहिर निस्केर मन्त्री शाहीले ट्याक्सीको फोटो खिच्दै चालकलाई आफ्नो परिचय दिए ।
‘पर्यटकले ट्याक्सी देखि होटलसम्म ठगेको गुनासो गर्दै आएको सुनेको थिएँ, तर, के हो वास्तविकता बुझ्न यसो गरेको हुँ,’ उनले भने, ‘अब एयरपोर्टमा ट्याक्सीवालाले दुःख नदिउन्, नठगुन भन्नकालागि यसो गरेको हुँ ।’



