रसिया विश्वकप फुटबल प्रतियोगिताको समाप्तिपछि धेरै खेलाडी आ–आफ्ना क्लबमा नियमित प्रशिक्षणमा लागेका छन् । कोही खेलाडी अझै पनि बिदा मनाइरहेका छन् । बिदा मनाउने खेलाडीमध्ये अर्जेन्टिनी कप्तान लियोनल मेसी पनि एक हुन् । रसिया विश्वकपको प्रिक्वार्टरफाइनलबाट बाहिरिएको अर्जेन्टिनाका कप्तान मेसी अहिले श्रीमती एन्टोनेला रोकुजोसँग रोमान्समा दिन बिताइरहेका छन् ।
नियमितजसो मेसी दम्पती कहीँ न कहीँ पुगिरहेको हुन्छ । ब्रिटिस मिडियाले बिहीबार मेसी र रोकुजो बार्सिलोनाको एक नाइट क्लबमा झुल्किएको जनाएका छन् । त्यहाँ उनीहरूले २ घन्टा समय खर्चिएको एजेन्सीहरूले जनाएका छन् । मेसी परिवारलाई साथ दिन सेस फाब्रिगासकी श्रीमती डानिएला सेमन पनि नाइट क्लबमा पुगिन् । डानिएला र रोकुजो बच्चैदेखिका साथी हुन् ।
अक्सर मेसी बाहिर रमाइलो गर्न जाँदा सकेसम्म फाब्रिगास परिवारलाई पनि साथ लैजाने गर्छन् । यसपटक फाब्रिगास प्रशिक्षणमा व्यस्त रहेकाले उनकी श्रीमती डानिएला मात्र नाइट क्लबमा साथ दिन पुगेकी हुन् । विश्वकपको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि मेसी आफूलाई फ्रेस बनाउन खोजिरहेका छन् ।
स्पेनिस लिग पछि सुरु हुने भएकाले मेसी तत्कालै बार्सिलोनाको क्पाम्पमा आबद्ध नहुने देखिन्छ । यो समय उनी परिवारसँगै बिताउने योजनामा छन् । यसपटक मेसीले स्पेनिस लिगमा प्रमुख प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोसँग प्रतिस्पर्धा गर्नुपर्ने छैन । गत साता रोनाल्डो १० करोड पाउन्डमा रियल म्याड्रिड छाडी सिरिए क्लब युभेन्टसमा आबद्ध भएका छन् । नयाँ पत्रीका बाट



