भारतको मध्य प्रदेशको खण्डवा जिल्लामा एक युवतीलाई आफ्नै बुवा र दाईले जिउँदै जलाएका छन् । परिवारको इच्छा विपरित विवाह गर्न खोजेको भन्दे ति युवतीलाई बुबा र दाइले जिउँदै जलाएका हुन् । गएको शुक्रबार १९ वर्षीय लक्ष्मी बाई उनका प्रेमी राजकुमार लौवंशीको घरमा पुगेकी थिइन् । लौवशीको घरमा गएकी लक्ष्मीलाई उनका बुवाले देखेका थिए । लक्ष्मीलाई उनका बुवाले जबरजस्ती घिसारेर आफ्नो घर लगेका बताइएको छ ।
जानकारीका अनुसार लक्ष्मी र राजकुमार १० महिनादेखि प्रेम गर्दै आइरहेका थिए । लक्ष्मीको परिवारलाई यो सम्बन्ध मन परेको थिएन । लक्ष्मीका बुवाले पटक पटक लक्ष्मीलाई सम्झाउँदै आएका थिए । लक्ष्मी र राजकुमारले अदालतमा गएर बिहे गर्ने निर्णय गरेका थिए । यसैक्रममा गएको शुक्रबार लक्ष्मी राजकुमारको घर गएको देखेपछि उनका बुबा सुन्दरलाल जाटव र दाइ राजेन्द्रले मट्टीतेल खन्याएर लक्ष्मीलाई आगो लगाइदिएका थिए । ती युवतीको घटनास्थलमा नै मृत्यु भएको थियो ।
प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको र उनका बुबा र दाइ दुवैजनालाई पक्राउ गरेको बताएको छ । युवतीकी आमा र केही छिमेकीले ती युवतीले आफैँ मट्टीतेल छर्किएर आत्महत्या गरेकी भन्ने बयान दिएका छन् । -एजेन्सी



