काठमाडौं, ४ असोज । काठमाडौंका निजी विद्यालयहरुबाट चन्दा उठाउनकै लागि बम आतंक फैलाइएको प्रहरीले जनाएको छ । मंगलबार विहान राजधानीका आधा दर्जन निजी विद्यालयमा वम आतंक फैलिएको थियो ।
संगठनको नामबाट आर्थिक लाभ लिने उद्देश्यले वम आतंक मच्याएको प्रहरीले दाबी गरेको छ ।
नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ्ग कम्युनिष्ट फोर्सको नाममा पर्चासमेत फालेर विद्यालयहरुमा बम आतंक मच्चाइएका थियो । प्रहरीले सो घटनामा संलग्न भएको भन्दै तीन जनालाई पक्राउ गरेको छ । उनीहरु तीनै जना माओवादी छाडेका कार्यकर्ताहरु रहेको बताइएको छ ।
राजनीतिक आवरणमा केही आपराधिक समूहले जनजीवन आतंकित पार्न खोजेको भन्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । विद्यालयहरुमा बम आतंक मचएको घटनाप्रति अन्य विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । उनीहरूले घटनामा संलग्नलार्इ कडा कारबाही गर्नसमेत माग गरेका छन् ।



