माघ ७, २०७३- नेपाली किशोरी तेरिया फौजा मगरले भारतीय सिनियर डान्स स्टारबीचको ठूलो प्रतिस्पर्धा उपाधि कब्जा गरेकी छिन् । रुपन्देही रुद्रपुरकी १४ वर्षे तेरियाले भारतीय टिभी कलर्सको ‘झलक दिखला जा’ को रियालीटी शो को उपाधि जीतेकी हुन् ।
फाइनलमा नृत्यसंगै एसएमएस भोटद्धारा विजेता छानिएको हो । एसएमएसमा सबै प्रतिश्पर्धीलाई पछि पार्दै उनी ट्रफीको हकदार बनेकी हुन् । तेरियाको औपचारिक जीतको घोषणा भने शनिबार राति १० बजेपछि कलर्स टिभिमार्फत गरिनेछ । तर, शुक्रबार अपरान्ह नै एसएमएस भोटको नतिजा निस्केको र आयोजकले उपाधि जीतेको औपचारिक जानाकारी आफुलाई गराएको मुम्मईमा रहेकी तेरियाले हजुरबुबा कृष्ण फौजामगरलाई फोनमार्फत जानाकारी दिएकी छिन् । जीतको खुसीसंगै समर्थक सबै नेपालीप्रति कृतज्ञता जनाएको पनि हजुरबुवाले जनाए ।
हजुरबुवा कृष्ण तेरिया मगर फाउण्डेशनका अध्यक्ष हुन् । उनले नै ‘तेरिया जीताऔं अभियान’ चलाएका थिए । उनले नै तेरियालाई तीन वर्षअघिसम्म रुद्रपुरबाट ४५ किलोमिटर टाढाबाट बुटवलमा दिनहुँ नृत्य सिकाउन ल्याएर नृत्य क्षेत्रमा लगाएका थिए । नातिनीको जीतको खबरसंगै उनी र तेरियाका उनका समर्थकहरुले खुसी साटासाट गर्न थालेका छन् । फाउण्डेशनका उपाध्यक्ष तथा बागेश्वरी संगीतालय बुटवलका निर्देशक सुरेश सेन्चुरीले बुटवलबाट डान्स करियर सुरु गरेकी तेरियाको जीतले नेपाली प्रतिभालाई पुन विश्वमाझ चिनाएको बताए ।
डान्स प्रतियोगिता विजेताहरु बीच प्रतिश्पर्धा गराउने ‘झलक दिखला जा’ भारतीय टिभी शोमा सर्वाधिक पुरस्कार राशीको हो । जीतसंगै तेरियाले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्राण्डको कार उपहार पाउने छिन् । सन् २०१४ को जी टिभिको ‘डिआइडीमा’ ४० हजार प्रतिश्पर्धीलाई पछाडि पारेकी तेरिया डिआइडी विजेताको तर्फबाट यसमा प्रवेश पाएकी हुन् । गत जुलाईमा प्रतियोगिता सुरु भएको थियो ।
त्यसमा १२ जोडी सिनियर महिला–पुरुष डान्स सेलीब्रटी छनोट भएका थिए । टेरियासहित ५ जना जुनियरलाई भने अक्टुवर ८ मा च्यालेन्जरका रुपमा प्रवेश गराइएको थियो । च्यालेन्जरका रुपमा प्रवेश पाएकामध्ये तेरियामात्रै फाइनलमा पुगेकी थिइन् । फाइनलमा उनले ‘डिआइडी’ सिजन १ का विजेता तथा झलक दिखला जाका पूर्व विजेता सलमान युसुफ खान र वर्ल्ड हिपहपका च्याम्पीयनसीपका विजेता सानतनु महेश्वरीसंग प्रतिश्पर्धा गरेकी थिइन् ।



