काठमाडौं, १९ असोज । नेपाल भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेस गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा सम्पन्न खेलमा निर्धारित समय र अतिरिक्त समयको खेल एकएकको बराबरीमा सकिएपछि विजेताको निर्णय टाइब्रेकर मार्फत लिइएको थियो । नेपालको जितमा गोलकिपर अन्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरिन् । उनले ३ वटा पेनाल्टी प्रहार रोक्नुका साथै पेनाल्टीमा १ गोल गरिन् ।
नेपाल समूह ‘बी’ को उपविजेता र भारत समूह ‘ए’ को विजेताको हैसियतले सेमिफाइनलमा स्थान बनाएको थियो । समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई १२–० ले हराएको नेपाल दोस्रो खेलमा भने बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।
यता समूह ‘ए’ को विजेता बन्दा भारतले भुटानलाई ४–० ले र माल्दिभ्सलाई ८–० ले हराएको थियो ।
नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा आयोजक भुटान र बंगलादेशबीच प्रतिष्पर्धा हुनेछ ।



