काठमाडौं– वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने क्रम बढेको छ। नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किनेहरुको चाप बढेको देख्न सकिन्छ। स्वदेश फर्किने क्रममा अधिकांश खाली फर्किन चाहँदैनन्। आफ्ना परिवार, आफन्त तथा साथीभाइलगायतका लागि भन्दै अधिकांशले विभिन्न सामान ल्याएर आउने गर्छन्।
यसरी सामान ल्याउँदा सरकारले वस्तु तथा संख्या हेरिकन भन्सार छुटसमेत दिँदै आएको छ। कतिपयमा भने अनिवार्य भन्सार तिर्नुुपर्छ। तर, विदेशबाट फर्किंदा कतिपय समान भने ल्याउन नपाइने कानुनी प्रावधान छ।
विदेशबाट कुन सामान ल्याउन पाइने, कति ल्याउन पाइने, सामानको भन्सार शुल्क कति लाग्नेजस्ता विषयमा धेरैजना बेखबर हुन्छन्। स्वदेश फर्किंदा यी विषयहरुमा जानकारीनै नलिई समान बोकेर आउदाँ कतिपय व्यक्ति विमानस्थलमा समस्यामा पर्ने गरेको देखिन्छ। यसले गर्दा नत ल्याइएको सामान सम्बन्धीतसमक्ष पुर्याउन सकियो नत पैसा नै जोगियो।
त्यसकारण भन्सार लाग्ने र छुट भएका समान तथा वस्तुका बारेमा विदेशबाटै जानकारी लिएर मात्र फर्कियो भने नेपालमा सास्ती ब्योहोर्नु पर्दैन। यसका लागि अर्थ मन्त्रालयको ‘झिटिगुन्टा आदेश’अनुसार मात्रै समान ल्याउँदा नेपालमा समस्या नहुने अध्यागमन कार्यालय बताउँछ।
कुन सामान कति ल्याउन पाइन्छ?
विदशेबाट फर्किने धेरैले टिभी, मोबाइल फोन, सुनचाँदीका गहना लगायतका सामाग्री लिएर आउने गरेको दृश्य विमानस्थलमा देख्न सकिन्छ। तर, नेपाल ल्याउन पाइने सामान र भन्सार दरबारे विदेशबाट फर्किनेहरुले जान्नैपर्छ, नत्र ल्याइएका सामान जफत हुनसक्छ भने महंगो भन्सार पनि तिर्नुपर्ने अवस्था पनि सिर्जना हुनसक्छ।
वैदेशिक रोजगारीमा रहेका र विदेशमा अस्थाइ बसोबास गर्दै आएका नेपालीहरुले दसैंमा स्वदेश फर्किंदा आफन्त तथा साथीभाइका लागि भन्दै महँगो ब्रान्डको विदेशी रक्सी ल्याउने प्रचलन छ। तर, धेरै परिमाणमा रक्सी ल्याउन मिल्दैन। १ लिटरसम्म रक्सी मात्र ल्याउन पाइन्छ। त्यो भन्दा बढी भन्सार रकम तिरे पनि ल्याउन मिल्दैन।
ल्यापटप, कम्प्युटर वा ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर र पेनड्राइभ १/१ थान ल्याउनेका हकमा सरकारले भन्सार छुट दिएको छ। बच्चा राख्ने ‘पेराम्बलेटर’ र ‘ट्राइसाइकल’ १/१ वटा ल्याउँदा पनि भन्सार लाग्दैन।
वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बसेर फर्किंदा ३२ इन्चसम्मको टिभी ल्याउन पाउने व्यवस्था छ। तर, रोजगारीका लागि नगएका व्यक्ति र एक वर्ष पुरा नभई फर्किएकाले भने यो सुविधा पाउँदैन।
विदेशमा काम गरेर फर्किएकाहरुलाई दुई थानसम्म नयाँ मोबाइल ल्याउँदा भन्सार लाग्दैन।
विभिन्न पेसा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यावसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था सरकारले गरेको छ। डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, ‘स्टेथेस्कोप’, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु, संगीतकर्मीहरुले बाद्यबाधनका सामाग्रीहरु लगायतका सामान १/१ थान ल्याउन भन्सार तिर्नुपर्दैन।
यस्तै, निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौनालगायत घरायसी उपयोग तथा व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन पनि भन्सारमा छुट दिइएको छ। तर, ठूलो परिमाणमा भने बोकेर ल्याउन मिल्दैन।
औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको साहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार छुट दिइएको छ।
कुनै समानमा भने ४० प्रतिशतसम्म समदरमा भन्सार तिर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। म्युजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा र रेडियो, क्यासेट प्लेयर १/१ थान ल्याउन सकिन्छ। तर, यस्ता समानमा समदरमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ। ३२ इन्चभन्दा माथिको टेलिभिजन ल्याएको खण्डमा भने इन्चअनुसार भन्सार महशुल निर्धारण गरिएको छ। एउटाभन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन नपाइने व्यवस्था छ।
यस्तै, ७ किलोग्रामसम्म खाद्यवस्तुमा पनि भन्सार छुट दिइएको छ। अर्थ मन्त्रालयका अनुसार यसबाहेक बढीमा १० किलोग्रामसम्म खाद्य सामग्री ल्याउन पाइन्छ। तर, यसमा सरकारले तोकिएको भन्सार शुल्क लिने गरेको छ। १५ थान लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान पनि तोकिएको ४० प्रतिशत भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिने अर्थ मन्त्रायलको सूचनामा उल्लेख गरिएको छ।
मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २–२ थानसम्म ल्याएमा भन्सार लाग्छ। व्यवसायिक पेसामा लागेका व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २–२ थानसम्म ४० प्रतिशत भन्सार तिरी ल्याउन पाउने व्यवस्था छ।
चुरोट २ सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म ल्याउँदा पनि समदरमा ४० प्रतिशत भन्सार तिर्नुपर्छ। पछिल्लो समय चुरोट ल्याउन पाइने व्यवस्था खारेज गर्ने सरकारले बताउँदै आएको छ।
सुनचाँदीको हकमा यस्तो छ व्यवस्था
अहिले विदेशबाट काँचो सुनचाँदी (ढिक्का सुन) लिएर नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा आउन पाइँदैन। सरकारले गहना बनिसकेका बाहेक काँचो सुन नेपालमा ल्याउन प्रतिबन्ध लगाएको छ। अहिले सुनका गहना ५० देखि ३ सय ५० ग्राम र चाँदीका गहनाका हकमा १ किलोग्रामसम्म मात्रै ल्याउन पाउने व्यवस्था छ। त्यो भन्दा बढी ल्याएमा सरकारले जफत गर्नसक्ने व्यवस्था छ।
गत आर्थिक वर्षदेखि बैंकको हकमा १ सय ग्रामको ढिक्का सुन ल्याउन पाउने प्रावधान छ। तर, व्यक्तिगत रुपमा भने काँचो सुन विदेशबाट ल्याउन प्रतिबन्ध लगाइएको छ। तयारी गहना भने ६ तोलासम्म लगाएर आउन पाइन्छ।



