कतिपय आमाबाबुले आफ्नो बच्चाले खाना नखाइदिने र त्यसका कारण बच्चाको तौल कम भएको गुनासो गरिराख्छन् । कतिपय आमाबाबु त डाक्टर-डाक्टर र अस्पताल-अस्पताल चहार्दाचहार्दै हैरान भएको समेत भन्ने गर्छन् ।
तर भारतको पंजाब प्रान्तमा एउटा ८ महिनाकी बालिकाका आमाबुवा भने असामान्य तरिकाले बढिराखेको उनको तौलबाट हैरान भएको बताइराखेका छन् ।
चाहत कुमार नाम गरेकी यी ८ महिने बालिकाको तौल १७ किलो रहेको छ, जुन सामान्य भन्दा निकै बढी हो । तिनका आमाबुवा मात्र हैन डाक्टरहरू समेत उनको तौलमा यस प्रकारको वृद्धिले जिल्ल परेका छन् ।
भारतीय मिडियाहरूमा आएको समाचार अनुसार ती बालिकाको खानपान समेत असामान्य रहेको छ । उनले आफ्नो उमेरका बच्चाहरूभन्दा धेरै बढी खाने गरेको बताइएको छ । उनको छाला समेत निकै बाक्लो रहेको र सिरिंज प्रयोग गरेर उनको रगतको नमुना लिन समेत डाक्टरहरूलाई अप्ठ्यारो परेको थियो ।
बढी वजनकै कारण चाहतलाई राम्ररी सुत्न र सास फेर्न समेत गाह्रो पर्ने गरेको बताइएको छ । र उनको रगतको नमुना समेत लिन नसकेकाले उनमा केकस्तो समस्या छ भन्नेबारे भने थाहा हुन नसकेको समाचारमा छ ।
चाहतकी आमाले उनको पहिलो बच्चाको मृत्यु भैसकेको र उनले मोटोपनाको कारणले नै अर्को बच्चा समेत गुमाउन नचाहेको बताइन् ।
उनका अनुसार चाहत सामान्य बच्चा जसरी कहना खाँदैनिन् । उनलाई सधैँ जसो केही न केही खाई नै राख्नु पर्दछ । उनले पटक पटक केही न केही खानेकुरा माग्ने गरेको र नदिए जोर जोरले रुने गरेकी छिन् ।
आमाबुवाले डाक्टरहरूले यस समस्याको कुनै न कुनै समाधान निकाल्ने आशा गरेको समेत बताएका छन् ।



