माघ १५ | लण्डनमा निधन भएका र्यापर यम बुद्ध अर्थात् अनिल अधिकारीको शव शनिबार नेपाल ल्याइएको छ।
अपरान्ह चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको शव ल्याइपुर्याइएको हो। यमबुद्धको शवलाई लिनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सैँयौँको संख्यामा उनका फ्यान भेला भएका थिए। उनको शवलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने कार्यक्रम छ।
यमबुद्ध दुई साताअघि लण्डनस्थित पत्नीको घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए। पोस्टमार्टम रिपोर्टमा उनले आत्महत्या गरेको पुष्टि भएको बताइएको छ।
यद्यपि उनका थुप्रै फ्यानले उनको मृत्यु रहस्यमय र शंकास्पद भएको भन्दै आएका छन्। पोस्टमार्टम रिर्पोटमा यम बुद्धले मदिरा पिएको देखिए पनि लागू औषध सेवन नगरेको देखिएको थियो। लण्डन प्रहरीले उनको मृत्युमा गहिरो अनुसन्धान नगरेको गुनासो पनि सुनिने गरेको छ।
‘साथी’, ‘आमा’, ‘यो प्रसङ्ग’, ‘अन्त्यको सुरुवात’, ‘असारको भेल’, ‘जुत्तामा’ जस्ता चर्चित गीत गाएका यमबुद्धले ‘टलकजंग भर्सेस टुल्के’को आउँदैछु म, ‘श्री पाँच अम्बरे’को अतीतका दिन, ‘सरी ल’को गेट डाउन जस्ता गीतमा स्वर दिएका छन्।



