जयपुर । भारतको जयपुरका एक किसान परिवारका लागि भने दिपावलीमा खुशी थपिएको छ । दाहसंस्कार गर्न लाग्दा ९५ वर्षीय बृद्ध जिवित भएपछि परिवारजनले धुमधामसँग दिपावली गरेका छन् ।
जयपुरको झुनझुनु जिल्लाका ९५ वर्षीय बुद्धराम गुज्जरले नयाँ जीवन पाएका हुन् । घरमै बसिरहेको बेला शनिबार दिउसो बुद्धराम एकाएक बेहोस भएका थिए । त्यसपछि परिवारजनले नजिकको स्वास्थ्य संस्थामा लगेका थिए । उनको केही त्यही उपचार गर्दा गर्दै डाक्टरले मृत्यु भएको घोषणा गरेको थियो ।
त्यसपछि परिवारजनले अन्तिम संस्कारको तयारी गरेका थिए । सबै गाउँले उनको घरमा जम्मा भएका थिए । नातेदारले कपाल खौरेका थिए भने दाहसंस्कारको तयारी शुरु गरिएको थियो ।
रुवाबासी चलिरहेकै बेला आफन्तजन पानी दिन थालेका थिए । ‘हाम्रो संस्कार अनुसार, नातेदारले पानी दिन थाले । मुख र छातीमा पानी दिन थाल्यौं । त्यही बेला होसमा आए,’ उनका जेठा छोरा बलुरामले भने, ‘हलचल गर्न थालेपछि घरभित्र लग्यौं । केही बेरमा त उठि हाले ।’
उनको परिवारका लागि दिपावली खुशी बोकेर आएको कान्छा छोरा रञ्जितले टाइम्स अफ इन्डियासँग भनेका छन । ‘बुवा मरेको भए दिपावली हुने थिएन् । हामी शोकमा हुने थियौं तर, बुवा मरिकसेपछि पनि जिवित हुनु भएको छ । यो त हाम्रा लागि चमत्कार हो,’ रञ्जितले भने ।



