सडकमा बिना हेल्मेट मोटरसाइकल चलाइरहेका एक युवकलाई बाटोमा ट्राफिक प्रहरीले रोके । ट्राफिक नियम तोडेको अभियोगमा रोकिएका ती युवकले प्रहरीलाई जे जवाफ दिए त्यसले त्यहाँ भएका ट्राफिक प्रहरीसहित सबको होस उड्यो । ती युवकले रगतले लत्पतिएको चक्का निकालेर देखाए । त्यसपछि उनले आफूले भर्खरै आफ्ना एक साथीलाई चक्कु हानेर आएको र प्रहरी चौकीमै जान लागेको बताए । त्यसपछि ट्राफिक प्रहरीले उनलाई त्यहीँ रोकेर अधिकारीहरुलाई सूचना दिए त्यसपछि युवकलाई पक्राउ गरिएको छ ।
घटना भारतको कर्नाटक राज्यको चिकबल्लापुरको हो । ती युवकले जुन साथीलाई चक्कु हानेका थिए उनी जीवित छन् र अहिले अस्पतालमा छन् । घटना १२ नोभेम्बरका दिन भएको बताइएको छ । जब ट्राफिकले सडकमा बिना हेल्मेट स्पोर्ट बाइक चलाइरहेका युवकलाई रोके उनले यस्तो जवाफ दिएका हुन् । ट्राफिकले लाइसेन्स माग्दा उनले रगतले लत्पतिएको चक्कु देखाएका थिए । चक्कु निकालेर अगाडि राख्दै उनले भने ‘सर मलाई माफ गरिदिनुस् । मैले भर्खरै एक जना साथीलाई चक्का हानेर आएको हुँ र म आत्मसमर्पण गर्न प्रहरी चौकी नै जाँदैछु ।’
प्रहरीका अनुसार ती युवकको नाम सन्दिप शेट्टी हो र उनी चिकबल्लापुरकै हुन् । सन्दिपले १ लाख रुपैयाँको लेनदेनको विवादमा आफ्ना बिजनेस पार्टनर देवराजमाथि चक्कुले आक्रमण गरेका थिए । सन्दिपका अनुसार देवराजले १ वर्ष पहिले उनीसँग १ लाख रुपैयाँ लिएका थिए । कैयौं पटक माग्दा पनि देवराजले सो रकम फिर्ता दिन मानिरहेका थिएनन् । त्यस दिन पनि देवराजले पैसा फिर्ता दिन नमानेपछि रिसमा सन्दिपले चक्का हानेका थिए । देवराज अहिले अस्पतालमा छन् ।



