दक्षिणी सुडानमा बिहेको लागि एक १७ वर्षकी किशोरीको खुलेआम लिलामी भयो । ‘भर्जिन’ भन्दै लिलामीमा राखिएकी ती किशोरीको लागि ५ जना पुरुषले बढाबढमा मूल्य लगाए । एक धनी व्यवसायीले सबैभन्दा धेरै मूल्य दिँदै ती किशोरीलाई आफ्नो बनाएका छन् । व्यवसायीले ती किशोरीको बदलामा उनका पितालाई ५०० वटा गाई, तीन विलासी कार र ११ लाख नेपाली रुपैयाँ बराबरको रकम दिएका छन् ।
किशोरीलाई किन्ने ती व्यवसायी र किशोरीको ३ नोभेम्बरमा बिहे भएको बताइएको छ । केही रिपोर्टमा ती किशोरीलाई देशकी सबैभन्दा महंगी महिला भनिएको छ । किशोरीको फोटो सामाजिक संजालमा निकै शेयर गरिएको छ । इस्टर्न लेकका संचारमन्त्री तबन अब्देलका अनुसार ती किशोरीलाई राजधानी जूबामा कहीँ लुकाइएको छ । मिडियामा उनीबारे खास जानकारी आएको छैन । उनको लिलामीको लागि सामाजिक संजाल प्रयोग गरियो र त्यसैबाट सबै जानकारी आएको हो ।
देशमा काम गर्ने अधिकारकर्मीहरु यो लिलामीको विरोध गरिरहेका छन् । उनीहरुले सरकार र फेसबुकसँग यस विषयमा कारवाही अघि बढाउन माग गरेका छन् । प्लान इन्टरनेशनल साउथ सुडानका कन्ट्री डाइरेक्टर जर्ज अटिमले भने कि संसारको सबैभन्दा ठूलो सामाजिक संजालमा यसरी मानवबेचबिखन हुनु विश्वास गर्न मुस्किल हुने कुरा हो । फेसबुकले अन्तर्राष्ट्रिय मिडिया रोयटर्ससँग सफाइमा भनेको छ कि उनको कम्युनिटी स्ट्याण्डर्डको उल्लंघनका कारण यो पोस्ट डिलिट गरिएको छ । फेसबुकका प्रवक्ताले भनेका छन् कि फेसबुकमा कुनै पनि तरिकाले मानव बेचबिखनसम्बन्धी काम गरिएको सहन गरिने छैन ।



