एजेन्सी। हिसार–दिल्ली सडकको जिंदल पुलको छेउमा मंगलबार राती २ बजे तीब्र गतिमा आएको एक कारले फुटपाथमा सुतिरहेका मजदुरहरुलाई किच्दै दौडियो । दुर्घटनामा ५ जनाको घटनास्थलमै जान गएको छ भने ६ जना गम्भीर अवस्थामा अस्पतालमा छन् । दुर्घटनाको शिकार भएका मजदूरहरु भोलिपल्ट बिहानै उठेर काममा जाने योजनासहित सुतेका थिए । तर, यीमध्ये ५ जनालाई थाहै थिएन कि यो उनीहरुको अन्तिम रात हुनेछ ।
यी मजदूरहरु यही पुल निर्माणको काम गर्थे । पुल निर्माणको सबै काम पूरा भइसकेको छैन । उनीहरु भोलिपल्ट बिहानै उठेर काम सुरु गर्ने भन्दै १० बजे खाना खाएर सुतेका थिए । राती लगभग २ बजे कार उनीहरुमाथि दौडिँदा उनीहरु मस्त निद्रामा थिए । राती २ बजे एउटा कार डिभाइडरमा ठोक्कियो । यो कारमा ३ जना थियो । उनीहरु कार ठोक्किएपछि कारबाट भुइँमा झरे । त्यसको पछाडि अर्को कार निकै तीव्र गतिमा आउँदै थियो ।
पछाडिको कार एक्कासी अगाडि ठोक्किएको कार देखेपछि बचाउने क्रममा अनियन्त्रित भयो । तीब्र गतिको कार फुटपाथमा चढ्यो । कार मजदूरहरुमाथिबाट दौडिँदै पुलको रेलिङ भत्काएर ७० फिट तल खस्यो । यो दुर्घटनामा कार चालक र ६ मजदूर घाइते भए, ५ जनाको मृत्यु भयो । मृतकहरु बिहारको खगडिया जिल्लाका भएको बताइएको छ ।



