एजेन्सी। ब्राजिलमा घरबाहिर उभिएकी एक्ली युवतीको मोवाइन खोस्ने प्रयास एक चोरको लागि निकै खतरनाक साबित भयो । ती युवतीले चोरलाई नराम्रोसँग पाठ सिकाएकी छिन् । विगत ४ वर्षदेखि आत्मरक्षाको प्रशिक्षण लिइरहेकी ती युवतीले चोरलाई यसरी फसाइन् कि चोरले रुँदै दयाको भिख माग्न थाल्यो । प्रहरीले ती आरोपीलाई पक्राउ गरेर मुद्दा चलाएको छ ।
यो घटना मंगलबार ब्राजिलको मनोस शहरमा भएको हो । २२ वर्षकी सबरिना लिट्स त्यसदिन घरबाहिर उभिएकी थिइन् त्यही बेला मोटरसाइकल सवार दुई चोर उनीनजिकै आए र उनीसँग मोवाइल माग्न थाले । दुवै खाली हात थिए । सबरिनाले बुझिन् कि उनीहरुसँग कुनै हतियार छैन । सबरिनाले मोवाइल घरभित्र फालिन् र उनीहरुसँग भिड्न तयार भइन् । सबरिना विगत ४ वर्षदेखि जियुजुत्सी (मार्शल आर्ट) को प्रशिक्षण लिइरहेकी थिइन् जुन कुरा चोरहरुलाई थाहा थिएन ।
युवतीले आक्रमण गर्न लागेको देखेपछि चोरहरुले त्यहाँबाटभाग्ने कोसिस गरे तर सबरिनाले दौडेर एउटालाई समातिन् । त्यसपछि उसलाई जमिनमा लगाएर उसको हातलाई आफ्ना दुई खुट्टाको बीचमा फसाइन् । ‘आर्म लक’ भनिन् मार्शल आर्टको यो तरिकाका कारण चोरलाई निकै पीडा भयो र ऊ रुन थाल्यो । सबरिनाको यो प्रतिरक्षाको उनका एक छिमेकीले भिडियो बनाएका थिए । भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।



