आश्विन ७, २०७३- मनास्लु पदमार्गको केरौंजा- ९ दोभानमा पहिरोमा पुरिएका ३ जनाको शवको शुक्रबार बिहान निकालिएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार पहिरोबाट निकालिएको शव हेलिकप्टरबाट काठमाडौं लगिएको छ । एक विदेशी सहित दुई नेपाली पर्यटक गाईडको शव टिचिङ अस्पताल लगिएको उनले बताए । स्पेनिस नागरिक ६६ वर्षीय एडलफो मेनुएल रिपसहित काठमाडौं गोकर्ण बस्ने ३५ वर्षीय दोर्जे लामा र ३० वर्षीया छिरी शेर्पाको शवको २४ घण्टापछि प्रहरी टोलीले झिेको हो ।
पहिरोले पुरिएर बुढीगण्डकी नदिले बगाएकी क्यान नेपाल नामक गैससको कर्मचारी ओखलढुङ्गाकी २५ वर्षीया रञ्जना बस्नेत भने फेला पर्न सकेकी छैनन् । उनको शवको खोजी कार्य भई रहेको प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयले जानकारी दिए । ‘आरुघाट ईलाका प्रहरी कार्यालयबाट गएको टोली घटनास्थल पुगेर मुचुल्का गरेको छ,’ उनले भने, ‘नदिले बगाएको शव पनि खोजी गरेका छौं ।’
पहिरोले अवरुद्ध बाटो बटुवा र खच्चड व्यवसायी भएर मर्मत गरी सुचारु गराएको केरौंजाका व्यवसायी निर्मल घलेले टेलिफोनमा बताए । ‘ढुङ्गाहरु खसिरहेको छ, मान्छे आउन जान मिल्ने बाटो मात्र खोलेका हौं’, उनले भने, ‘जुनकुनै बेला बन्द हुन सक्छ ।’ पहिरोका कारण बाटोमा हिडडुल गर्न जोखिमपूर्ण रहेको उनको भनाइ छ ।
मनास्लु पदमार्गको उहिया स्थित तातोपानी नजिकैको झोलुङ्गे पुल पारि केरौंजा तर्फ भूकम्प लगत्तै पहिरो गएको थियो । सोहि स्थानमा बिहीबार बिहान पुन: पहिरो जाँदा ४ जनाको मृत्यु भएको हो भने दुई नेपाली सहित १४ जना पर्यटक घाइते भएका थिए । २०७२ बैशाख १२ को भूकम्पपछि पदमार्ग अस्थायी रुपमा सुचारु भएको छ ।



