यूएईविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गर्दा नेपालले रेकर्ड बनाएको छ ।
आईसीसीले एक दिवसीय क्रिकेटको मान्यता दिएपछि गएकाे अगस्टमा खेलेको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेको थियो । त्यतिबेला ज्ञानेन्द्र मल्ल र अनिल कुमार साहले उक्त साझेदारी गरेका थिए ।
तर आज उक्त रेकर्ड ब्रेक भएको छ । आज ओपनर जोडी ज्ञानेन्द्र र विनोद भण्डारीले ६१ रनको साझेदारी गरेका छन् । जसमा विनोद २१ रन बनाएर आउट भएपछि साझेदारी टुटेको थियो ।
एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै ठूलो योगफल
एक दिवसीय क्रिकेटमा नेपालले अहिलेसम्मकै सर्वाधिक ठूलो योगफल तयार पारेको छ । नेपालले नेदरल्याण्ड्सविरुद्ध २१५ रन बनाएको थियो । यूएईविरुद्ध पहिलो एक दिवसीयमा ११३ रन मात्रै बनाउन सकेको नेपालले आज २४२ रन बनाउँदै नयाँ रेकर्ड बनाउन सफल भएकाे हाे ।
अहिलेसम्म खेलेका कुनै पनि एक दिवसीय क्रिकेटमा नेपालले पूरै ५० ओभर टिकेर खेल्न सकेको थिएन । तर आज नेपालले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४२ रन बनाएको हाे ।
छैटौं विकेटको साझेदारीमा पनि नयाँ रेकर्ड
छैटौं विकेटको साझेदारीमा पनि नयाँ रेकर्ड बनेको छ । नेदरल्याण्ड्सविरुद्ध छैटौं विकेटका लागि पारस खड्का र रोहित कुमार पौडेलले ४७ रनको सर्वाधिक साझेदारी गरेका थिए । तर आज रोहित पौडेल र आरिफ शेखले ८२ रनको साझेदारी गर्दा नयाँ रेकर्ड बनेको छ ।



