काठमाडौं, ८ असोज । दाताको सहयोगमा सरकारद्वारा सञ्चालित ‘सुनैला हजार कार्यक्रम’मा व्यापक भ्रष्टाचार भएको सरकारी छानबिनमै फेला परेको छ ।
गर्भावस्थालेखि शिशु स्याहारसम्मका हजार दिनलाई लक्षित गरी विश्व बैंकको सहयोगमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम लागू भएका जिल्लामध्ये धनुषा, सप्तरी, सिराहा, महोत्तरी र रौतहटमा तलबभत्ता सामान खरिदलगायत नाममा भ्रष्टाचार भएको पाइएको आजको नागरिक दैनिकमा खबर छ ।
लक्षित समुदायलाई फाइदा पु¥याउने भन्दा कार्यक्रमबाट कर्मचारीले व्यक्तिगत लाभ लिएको, अनुदान हिनामिना गरेको र केन्द्रबाट पठाइएको रकम जिल्ला नपुगेको सार्वजनिक भएपछि मन्त्रालयले गरेको छानबिनमा तराईका पाँच जिल्लामा कर्मचारीबाट भ्रष्टाचार भेटिएको हो ।
कार्यक्रम विवादमा आएपछि मन्त्रालयले दुई उपसचिव नेतृत्वमा छ्ट्टछुट्टै टोलीमार्फत छानबिन गरेको थियो । उपसचिव पुरुषोत्तम कार्की संयोजकत्वमा सप्तरी, सिरहा र धनुषा एवं अर्का उपसचिव सुमन कार्कीको संयोजकत्वमा महोत्तरी र रौतहटमा यो कार्यक्रमबारे छानबिन गर्न असार २२ गते टोली गठन गरेको थियो ।
छानबिन टोलीले मन्त्रालयमा बुझाएको प्रतिवेदनमा परियोजनाका लािग काम गर्ने कर्मचारीका कारण मातृशिशु लक्षित उक्त कार्यक्रम निष्प्रभावी बनेको ठहर छ ।
प्रतिवेदन अनुसार केन्द्रबाट निकासा भएको तलबभत्ता बापतको रकम कर्मचारीलाई नदिएको, समूहको पैसा कोचले जबर्जस्ती आफ्नो खातामा जम्मा गरेको तथा मसलन्द र तालिमको नाउँमा कार्यक्रमै नगरी अनधिकृत पैसा लिएको भेटिएको छ । प्रतिवेदनअनुसार कार्यक्रमका कर्मचारी तलब र समूहका नाउँमा केन्द्रबाट निकासा भएको करोडौं रुपैयाँ जिल्लामा नलगी कार्यक्रम संयोजकले भ्रष्टाचार गरेको भेटिएको छ ।



