काठमाडौँ, २८ भदौ ।सबै प्रकारका रोगको शल्यक्रियाका लागि अब विदेश जान नपर्ने भएको छ ।

थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विद्यमान शल्यक्रिया कक्षमा अत्याधुनिक उपकरण जडान गरी अन्तर्राष्ट्रियस्तरको बनाएको छ ।

आगामी साताबाट सेवा सुचारु हुने बताइएको शल्यक्रिया कक्षलाई विशिष्ट स्तरको मोडुलर शल्यक्रिया सुइट्सको रुपमा रुपान्तरित गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बताए ।

‘लुन गङ्गा अपरेटिङ्ग सुइट्स’ नाम दिइएको उक्त कक्षमा तीनवटा शल्यक्रिया कक्ष अत्याधुनिक सुविधा सम्पन्न, व्यवस्थित र जीवाणुरहित निर्माण गरिएको र शल्यक्रिया नयाँ मापदण्डअनुसार अन्तर्राष्ट्रियस्तरको हुने सिंहले जानकारी दिए ।

उनले भने ,“हामीले बनाएको शल्यक्रिया कक्ष युरोपियन युनियनको मापदण्डअनुसारको छ । त्यहाँ प्रयोग गरिएको हरेक सामग्री र प्रविधि जेआइसीको मापदण्डअनुसारको प्रयोग गरेका छौँ । यसले राम्रो र स्तरीय सेवाको लागि विदेश धाउनुपर्ने अवस्थालाई अन्त्य गर्नेछ भन्ने विश्वास लिएका छौँ ।”

उक्त शल्यक्रिया कक्षको बुधबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्ने अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय