बनेपा । कलकल नदीमा पानी बगिरहेको छ, आसपासका डाँडाबाट झरना झरेको छ, प्राकृतिक सुन्दरताले छपक्कै ढाकेको मेलम्चीलाई सांसद शेरबहादुर तामाङले ‘चिटिक्क परेको बेहुलीको’ उपमा दिनुभयो । यो कुनै चलचित्रमा भएको संवाद होइन । बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनमा जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहालको अनुगमनपछि आयोजित कार्यक्रममा अभिव्यक्त भएको संवाद हो ।
हामी मेलम्चीलाई छिट्टै डोलीमा राखेर अन्माउन तयार छौँ तर हाम्रा पनि केही सर्त छन्, सांसद तामाङले भन्नुभयो र ड्यासमा बसिरहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल मुसुमुसु हासिरहनुभयो । सम्बोधनका क्रममा सांसद तामाङले प्राकृतिक सुन्दरताको वर्णन गर्दै मेलम्चीको खानेपानी छिट्टै भित्र्याउनुहोस् तर स्थानीयवासीलाई यसको रोयल्टी कम्तीमा प्रतियुनिट रु पाँच दिनोस् भन्नुभयो ।
जब प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्नुभयो अनि भन्नुभयो – “म तपाईंहरुलाई तपाईंहरुले माग गरेभन्दा बढी नै रोयल्टी दिन प्रयत्न गर्नेछु । तर विडम्बना मेलम्चीको खानेपानी आयोजनामा पुग्ने प्रवेशद्वार वा सडकको अवस्था जीर्ण रहेको छ ।” ग्राभेलिङ गरेको, खाल्डाखुल्डी भएको सडक र ठाउँठाउँमा गएको पहिरोले सडकलाई कुरुप बनाएको छ । तर पनि काठमाडौँका लागि खानेपानी पु¥याउन त्यहाँको जनशक्ति पूर्णरुपमा लागिपरेको छ ।
रणनीतिक महत्वको मेलम्ची खानेपानी आयोजना तोकिएको समयमा सम्पन्न नभए पनि यसले दिने दिगो लाभले सबैलाई लोभ्याएको छ । सो खानेपानी आयोजनाअन्तर्गत मेलम्ची, याङ्गरी र लोर्के नदीलाई डाइभर्सन गरी सुरुङको माध्यमबाट दैनिक ५१ करोड खानेपानीको उत्पादन गरी काठमाडौँ भित्र्याउने लक्ष्य भएको आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिनुभयो ।
२२४ मिटर सुरुङ निर्माण (२० मिटर अडिट निर्माण) समेत भएको उल्लेख गर्दै हेडवर्कस निर्माणका लागि २० हजार घनमिटर ओपन कट गरिएको र तीनवटा वेन्चिङ तयार गरी रक सपोर्ट गरिएको र चौथौ बेन्च तयार गर्ने काम भइरहेको बताउनुभयो । चालु आवको भदौमा ९२५ मिटरसहित हालसम्ममा १९९६ मिटर सुरुङ निर्माण भएको छ ।
सुरुदेखि हालसम्म जम्मा १९.८८ किलोमिटर ७२.०८ प्रतिशत काम भएको र ७.७० किमी अर्थात् २७.९१ प्रतिशत काम हुन बाँकी रहेको कार्यकारी निर्देशक भट्टराईको भनाइ छ । इटालीको निर्माण व्यवसायीले हेडबक्स तथा सुरुङ निर्माणका लागि ठेक्का लिएकामा सम्झौताको छ महिना अन्तरिम म्याद थप भएको छ । यसको लागत रु २३ अर्ब ४५ करोड ८६ लाख रहेको छ।
http://www.news24nepal.tv बाट सभार गरिएको ।



