नेपाली कांग्रेस प्रवेशको कुरा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले नकारेका छन् ।
कांग्रेससँग जोडेर पछिल्लो समयमा चर्चामा रहेको उनको प्रवेशको विषयलाई लिएर आपत्ती समेत जनाएका छन् ।
इनरुवामा आयोजित अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै उनले आफ्नो पार्टी तराई, मधेस, हिमालमा समान ढंगले विस्तार भईरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गरी हल्ला चलाईएको भन्दै आफ्नो कांग्रेसमा प्रवेशको कुनै सम्भावना नरहेको स्पष्ट पारे ।
उनले भने–कांग्रेसमा असहमति भएर मैले छाडेको हुन । उपेन्द्र यादव नेतृत्वको पार्टीमा पनि विमति भएरै छाडेको हुँ त्यसैले अब ती पार्टीमा प्रवेशको कुनै सम्भावना छैन ।
उनले कांग्रेस पार्टीभित्र आफ्नो आवश्यकता महसुस गरिएको उल्लेख गर्दै अब आफू कांग्रेसमा प्रवेश गर्नु भन्दा पनि आवश्यकता परे कांग्रेस नै फोरम लोकतान्त्रिकमा एकीकरण हुन आउनु पर्ने तर्क गरे ।
गच्छदारले धेरै पार्टीहरुले छिट्टै लोकतान्त्रिकसँग एकीकरण हुने तयारी गरिरहेको भन्दै पार्टीको प्रभावको बेगसँग डराएकाहरुले कुप्रचार गरिरहेकोले यस्ता हल्लाका पछि नलाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
उनले स्थानीय तहको आसन्न निर्वाचनमा होमिन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिदै मुलुकमा विद्यमान राजनीतिक संकट आफूले अघि सारेको आठ प्रदेशको अवधारणाबाटै समाधान हुने दावी गरे ।



