#


विश्वकप क्रिकेटः पहिलो सेमिफाईनल आज, विराटसँग ११ वर्ष अघिको बदला लिने दाउमा …

    २०७६ असार २४, मंगलवार ०८:५८ मा प्रकासित

एजेन्सी । इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेटको समूह चरणको सबै खेलहरु सकिएको छ। राउण्ड रोबिनको आधारमा खेलाइएको उक्त खेलमा शीर्ष चार टिमले सेमिफाईनलमा स्थान बनाएका छन्। उक्त चार टिममध्ये आज पहिलो सेमिफाईनल खेल भारत र न्युजिल्याण्डबिच हुनेछ।

म्यान्चेष्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा नेपाली समयअनुसार दिउसो ३ः१५ मा सुरु हुने खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै फाईनलमा स्थान बनाउने हुनेछ। यी दुवै टोलीले पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागिता जनाउँदै आएका छन्। भारतले दुई पटक विश्वकपको उपाधि जितिसकेको छ। सन् २००३ मा पनि विश्वकपको फाइनलसम्म पनि पुगेको थियो। न्युजिल्यान्डले भने हालसम्म विश्वकपको उपाधि चुम्न सकेको छैन। न्युजिल्यान्ड एकपटक सन् २०१५ मा विश्वकपको फाइनलसम्म पुगेको थियो।

जारी विश्वकपमा भने भारत र न्युजिल्याण्ड दुवै बलिया टोलीको रूपमा देखिएका छन्। लिग चरणमा भारत विजेता र न्युजिल्यान्ड चौथो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेका हुन्। यी दुई टोलीको विश्वकप क्रिकेटमा पहिलो सेमिफाइनल भेट भए पनि विराट कोहली र विलियम्सनको भने एकअर्कासँग दोश्रो जम्काभेट हो।

यी दुबै खेलाडीको भेट ११ वर्ष अगाडि अन्डर–१९ विश्वकपको सेमिफाइनलमा भएको थियो। यस समय विराट ३० वर्षका छन् भने त्यतिबेला १९ वर्षका थिए। यस्तै त्यतिबेला केन विलियम्सको उमेर १७ वर्ष थियो। २७ फरवरी, २००८ मा मलेसियामा भएको खेल भारतले ३ विकेटले जितेको थियो। दुबै जना त्यतिबेला आआफ्नो टोलीका कप्तान थिए। आज पनि दुबैले आआफ्नो देशको कप्तानी गरिरहेका छन्। त्यसैले पनि आज भारतलाई हराउँदै विलियमसँग ११ वर्ष अगाडीको बदला लिने मौका रहेको छ।

लिग चरणमा भारत आफूले खेलेका नौमध्ये सात खेलमा विजयी भएको थियो। यसैगरी लिग चरणमा न्युजिल्यान्डले नौमध्ये पाँच खेलमा जित हात पारेको थियो। लिग चरणको नतिजा हेर्दा तुलनात्मक रूपमा न्युजिल्यान्डभन्दा भारत केही बलियो देखिन्छ।

हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा यी दुई टोलीबीच भएको भिडन्तमा पनि भारत नै बलियो देखिन्छ। यी दुई टोलीबीच हालसम्म एक सय ६ वटा एकदिवसीय खेल भएको छ। ५५ खेलमा भारत विजयी भएको छ भने ४५ खेलको नतिजालाई न्युजिल्यान्डले आफ्नो पक्षमा पारेको छ। यी दुई टोलीबीचको एक खेल बराबरी र पाँच खेल अनिर्णित रूपमा सकिएको छ।

यसैगरी विश्वकपमा यसअघि यी दुई टोलीबीच खेलिएको खेलमा भने न्युजिल्यान्ड केही बलियो देखिन्छ। यसअघिको विश्वकपमा यी दुई टोलीबीच कुल आठ खेल भएको छ। आठमध्ये चार खेलमा न्युजिल्यान्ड र तीन खेलमा भारत विजयी भएका छन्। एक खेल भने अनिर्णित रूपमा सकिएको छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी