काठमाडौं, ११ असोज । धादिङ्को मार्पाकमा मंगलबार भएको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनास्थलमा नै १८ जनाको शव भेटिएको जिल्ला प्रहरीले कार्यालय धादिङले जनाएको छ ।
उपचारका लागि काठमाडौं ल्याइएका मध्ये एक जनाको शिक्षण अस्पताल महाराजगञ्मा मृत्यु भएपछि मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
धादिङबेसीबाट किन्ताङफेदीतर्फ कच्चिबाटोमा जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मंगलबार विहान साढे ११ बजे धादिङ्को मार्पाक गाविस–५ लापाङमा पल्टिएको थियो । बस सडकबाट झण्डै तीन सय मिटर तल लापाङखोलामा खसेको छ ।
सरकारले भूकम्पपीडितका लागि बाँडेको पहिलो किस्ताको अनुदान बुझेर सदरमुकामबाट फर्किदै गरेका अधिकांश भूकम्पपीडित दुर्घटनामा परेका थिए । गाडीमा ५० भन्दा बढी यात्रु रहेको बताइएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा बसका चालक गोरखा जिल्लाका गंगा सुनार, सत्येदेवी–२ का रौसिङ तामाङ, मेन्दीजोङ तामाङ, रल्क तामाङ, सेरलक तामाङ र उनका पाँच वर्षीय बच्चा रहेका छन् ।
यसैगरी सत्यदेवी–३ का तिलबहादुर तामाङ, री गाउँ विकास समिति–८ का चन्द्रमान तामाङ, सोही ठाउँकै मन तामाङ, री–२ का कासा लामा तामाङ, दार्खा–९ का रामचन्द्र सापकोटा, मार्पाक–५ की दीलकुमारी पौडेल र उनकी छोरी कमला पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्यको भने अझै सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका १४ जनालाई हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । दुर्घटनाको खबर पाए लगत्तै काठमाडौंमा रहेका कांग्रेस धादिङका सभापति रमेश धमला हेलिकप्टर लिएर घटनास्थल पुगेका थिए ।



